नेपालका वाणिज्य बैंकहरूको कर्जा निक्षेप (CD) अनुपात विश्लेषण गर्दा केही बैंकहरू नियामकीय सीमा नजिकै पुगेका देखिएका छन् भने सरकारी स्वामित्वका बैंकहरूले अझै पनि पर्याप्त तरलता सुरक्षित राखेका छन्।
सरकारी बैंकहरू — नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक — को औसत CD अनुपात ६८.९६% रहेको छ। यी बैंकहरूले आफ्नो कर्जा प्रवाहमा सावधानी अपनाइरहेका छन्। विशेषगरी, राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा न्यून CD अनुपात ६१.९९% देखाएको छ, जसले बैंकको उच्च तरलता स्थिति संकेत गर्छ।
तर निजी क्षेत्रका बैंकहरू चाहिँ निकै आक्रामक देखिएका छन्।
एनएमबी बैंक लिमिटेडले ८६.७६% CD अनुपातका साथ सबैभन्दा उच्च कर्जा प्रवाह गरेको देखिएको छ। त्यसपछि प्राइम कमर्सियल बैंक लिमिटेड ८६.०९% मा दोस्रो स्थानमा रहेको छ। यी दुबै बैंक नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम ९०% को नजिक छन्, र प्रायः सुरक्षित पक्षमा रहन बैंकहरूले ८५% भन्दा तल नै आफ्नो अनुपात राख्ने गर्दछन्।
सिटिजेन्स बैंक इन्टरनेसनल लिमिटेड (८३.७९%), एनआईसी एसिया बैंक लिमिटेड (८३.५७%) र सिद्धार्थ बैंक लिमिटेड (८३.६८%) पनि उच्च कर्जा प्रवाहमा छन्।
दोसरी तर्फ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सबैभन्दा न्यून CD अनुपात ६७.६१% कायम गरेको छ, जुन सरकारी बैंकहरूको औसतभन्दा पनि कम हो। त्यसैगरी, नेपाल एसबीआई बैंक लिमिटेडले ७२.०४% अनुपात राखेको छ।
नबिल बैंक लिमिटेड, जुन निजी क्षेत्रको ठूलो बैंक मानिन्छ,ले ८२.८०% अनुपात देखाएको छ, जुन मध्यम स्तरको आक्रामकता जनाउँछ।
ग्लोबल आईएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, र सनिमा बैंक लिमिटेडले आफ्ना CD अनुपातहरू ७८% देखि ८०% को बीचमा राखेका छन्, जुन अहिलेको बजार अवस्थामा सन्तुलित मानिन्छ।





