·
नेप्से सञ्चालक समितिको ढिलाइले सेबोनको मार्जिन कारोबार सुरु हुन ढिला, लगानीकर्ताको प्रतिक्षा जारी
Author
NEPSETRADING

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा तरलता बढाउने र लगानीकर्तालाई ब्रोकरमार्फत ऋण लिएर शेयर किन्ने सुविधा दिन “मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२” ठुलो तामझामका साथ जारी गरेको थियो। निर्देशिका फागुन १ गतेदेखि लागु भएको भए पनि चैत १० गतेसम्म पनि लगानीकर्ताले यो सुविधा पाउन सकेका छैनन्। यसको मुख्य कारण बनेको छ–नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको ढिला र उदासीन कार्यशैली।धितोपत्र ऐन, २०६३ को दफा ११८ अन्तर्गत जारी यो निर्देशिकाले २० करोड रुपैयाँ चुक्ता पूँजी भएका र राफसाफ सदस्यता लिएका ब्रोकरलाई मार्जिन कारोबार सेवा दिन अनुमति दिएको छ। धेरै ब्रोकरले आवश्यक पूँजी र प्राविधिक तयारी पूरा गरिसकेका भए पनि नेप्सेले निर्देशिकाको दफा १४ अनुसार ‘आन्तरिक कार्य प्रक्रिया’ तयार पार्नुपर्ने प्रावधानलाई कारण देखाउँदै प्रक्रिया रोकिरहेको छ। मस्यौदा तयार भइसकेको भए पनि सञ्चालक समिति भित्रको असहमति र स्वार्थ द्वन्द्वका कारण कार्यविधि पास हुन सकेको छैन।मार्जिन कारोबार सुरु भएपछि लगानीकर्ताले ३०% प्रारम्भिक मार्जिन राखेर ७०% लगानी ब्रोकरमार्फत पाउने थिए, जसले बजारमा अर्बौँको माग सिर्जना गर्न सक्थ्यो। ढिलाइले नब्रोकरले कारोबार सुरु गर्न पाएका छन् न लगानीकर्ताले बजारको बढ्दो लयको फाइदा उठाउन सकेका छन्। अधिकांश ब्रोकरले छुट्टै ‘मार्जिन कारोबार खाता’ र ‘मार्जिन कारोबार हितग्राही खाता’ तयार पारिसकेका छन् र मार्जिन कल तथा आफ्नो नेटवर्थको पाँच गुणासम्म लगानी गर्ने प्रक्रिया बुझिसकेका छन्। तर नेप्सेले कार्यविधि पास नगरेसम्म प्रणालीमा अर्डर इन्ट्री गर्न सकिँदैन।नेप्से सञ्चालक समितिको उदासीनता सेबोनको अधिकारको समेत चुनौती बनिरहेको छ। फागुन १ गतेको समयसीमा नाघेपछि चैत १० गतेसम्म ढिलाइले बजार सुधारका कुरा केवल भाषणमा सीमित भएको पुष्टि गरेको छ। यदि नेप्सेले तत्काल कार्यविधि पास गरी सेवा सुरु नगरेमा यसको जिम्मेवारी नेतृत्वले लिनै पर्नेछ ।



