प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाब
Author
NEPSE TRADING

नेपाली सेयर बजारले मंगलबार ३ हजार विन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गर्दै नयाँ उचाई हासिल गरेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.७ विन्दुमा पुगेको छ, जुन विगत ५२ साता यताकै उच्च विन्दु हो। आइतबार नेप्से इन्ट्रा डेमा ३०१३ सम्म पुगे पनि बजार बन्द हुँदा २९६४ मा झरेको थियो। तर मंगलबारको बजारले फेरि उकालो लिँदै ३०२८ सम्म पुगेर अन्त्यमा ३००२.७ मा क्लोज गरेको हो।
प्राविधिक विश्लेषण अनुसार हालको प्रतिरोध क्षेत्र ३०००–३०५० विन्दुबीच देखिन्छ। यो स्तर पार गरेपछि अर्को प्रतिरोध ३१८०–३२३० विन्दुमा रहने अनुमान छ। तल झरेमा बजारले २७५०–२८०० विन्दुमा सपोर्ट पाउने प्रक्षेपण गरिएको छ। यसपटकको बजार वृद्धिले छोटो समयमै धेरै विन्दु पार गरेकोले अझै उचाई बाँकी रहेको संकेत मिलेको छ।
साउन महिनाभित्र ३०५० पार गरेर ३२०० नजिक पुग्ने धेरै लगानीकर्ताको अपेक्षा देखिन्छ। यो वृद्धिको पछाडि नीतिगत सुधार, मौद्रिक नीति, ब्याजदरमा गिरावट, तथा तरलताको भूमिका देखिन्छ। राष्ट्र बैंकको नीतिले शेयर बजारमैत्री वातावरण बनाएको छ – कर्जा जोखिम भार १००% मा झारिएको, धितो कर्जाको सीमा २५ करोड पुर्याइएको, र ब्याजदर ८% भन्दा तल झरेको छ। सिडी रेसियो पनि ७५% आसपास छ, जसले बैंकहरूमा लगानीयोग्य पूँजी पर्याप्त रहेको देखाउँछ।
कम ब्याजदरले मुद्दती खाताबाट पैसा झिकेर शेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढेको छ। समग्रमा हेर्दा, अहिलेको बजार वृद्धिमा रणनीतिक, आर्थिक र मनोवैज्ञानिक सबै पक्षको मिलन देखिएको छ। यदि बजारले प्रतिरोध पार गरेर स्थायित्व कायम राख्न सक्यो भने नयाँ बुल ट्रेन्ड सुरु हुने संकेत प्रष्ट देखिन्छ।
प्रविधिक विश्लेषण
प्रविधिक विश्लेषक अजित खनालका अनुसार मंगलबारको बजारले महत्वपूर्ण प्राविधिक संकेत दिएको छ। सोमबारको बजारमा बनेको नकारात्मक "ह्याङ्गिङ म्यान" क्यान्डललाई मंगलबारको ग्याप अप ओपनिङले प्राविधिक रूपमा 'इनभ्यालिड' बनाएको छ। मंगलबारको क्यान्डल सोमबारको उच्च भन्दा माथि क्लोज हुँदा नेगेटिभ ट्रेन्ड असफल प्रमाणित भएको छ।
यस दिनको क्यान्डल अनुसार आगामी लक्ष्य ३०४८ विन्दु रहने विश्लेषकहरूको अनुमान छ। बजार ३००० माथि बलियो रूपमा टिकिरहेको छ, जुन थप उचाईको संकेत हो। कारोबार रकम थोरै घटे पनि बजारको गति बलियो देखिएको छ। दिउँसो २:३० बजेपछि बैंकिङ र हाइड्रो समूहले बजारलाई राम्रो सहयोग गरेका थिए। तर अन्तिम ५ मिनेटमा बैंकिङमा केही ठूला लगानीकर्ताबाट भारी सप्लाई देखिएको थियो, जसले अल्पकालीन उतारचढाव ल्याउन सक्छ तर ट्रेन्डमा असर नगर्ने भनिएको छ।
बैंकिङ समूहको कारोबार हिस्सा कुल कारोबारको १५% पुगेको छ। १० ठूला बैंकमध्ये ७ बैंकमा खरिदकर्ताको दबाब देखिएको छ, जुन बुल ट्रेन्डलाई बल दिन्छ। ग्यापअप ओपन, नेगेटिभ क्यान्डलको इन्भ्यालिडेसन, ३००० माथिको क्लोजिङ, र सक्रिय बैंकिङ/हाइड्रोले बजारलाई प्राविधिक रूपमा बलियो बनाएको छ। यदि बजारले ३०४८ पार गर्यो भने, अर्को लक्ष्य ३१८० विन्दुसम्म पुग्ने प्रक्षेपण देखिन्छ।
ब्रोकर विश्लेषण
मंगलबार ठूला ब्रोकरहरूले बजारमा खरिदको दबाब देखाएका छन्। १० ठूला ब्रोकरमध्ये ८ ब्रोकरले सेलभन्दा बढी बाइ गरेका छन् भने २ ब्रोकरले सेल बढी देखाएका छन्। ब्रोकर नम्बर ५८ ले मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा, १ अर्ब ४६ करोडको बाइ र १ अर्ब ५६ करोडको सेल गरेको देखिन्छ।
आजको बजारमा जी भि एल, सानीमा, फस्ट माइक्रो जस्ता स्टकहरू क्रमशः ब्रोकर ५८, ४४ र ५८ बाट बढी उठाइएको देखिन्छ। यसले ब्रोकरहरूको सक्रियता र संस्थागत बाइङ दबाबले बजारमा आशावाद अझै कायम रहेको पुष्टि गर्छ।