नेप्से प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंको भनाइः ‘सन्तुलन, अनुशासन र संस्कृतिको आधारमा मात्रै पूँजी बजार बलियो बन्छ’
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले जीवनमा जस्तै पूँजी बजारमा पनि सन्तुलन, अनुशासन, पारदर्शिता र संस्कृतिको सम्मान आवश्यक रहेको बताएका छन्।
स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान)ले दिपावली, म्हःपूजा र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जीवनका चार आयाम — पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक पक्षबीच सन्तुलन कायम गर्न सके जीवन मात्र होइन, पूँजी बजार पनि सबल र पारदर्शी बन्ने बताएका हुन्।
चापागाईंका अनुसार, “हामी सबैले पेशागत जिम्मेवारी पूरा गर्नुका साथै परिवारसँग समय बिताउन, समाज र समुदायमा योगदान पुर्याउन र संस्कृतिलाई सम्मान गर्नुपर्छ।”
उनले थपे, “पेशागत जीवनले अनुशासन सिकाउँछ, पारिवारिक जीवनले संवेदनशीलता, सामाजिक जीवनले जिम्मेवारी र सांस्कृतिक जीवनले उत्साह र आशा दिन्छ।”
नेपाल संवतलाई गौरवशाली इतिहासको प्रतीक बताउँदै उनले भने, “म्हःपूजा, तिहार र छठले हामीलाई उज्यालो, आशा, कृतज्ञता र संस्कार सिकाउँछन्। यही मूल्य र मान्यता पूँजी बजारमा पनि आवश्यक छ — विश्वास, पारदर्शिता, अनुशासन र दीर्घकालीन सोच नै स्थिर बजारको आधार हो।”
चापागाईंले सम्पूर्ण लगानीकर्ता, दलाल सदस्य, नियामक निकाय र बजारसँग सम्बन्धित सबैमा यी पर्वहरूले नयाँ उमङ्ग, आशा र सकारात्मक सोच ल्याओस् भन्ने शुभकामना व्यक्त गरे।
उनले बजारको स्थायित्व लगानीकर्ता, सदस्य, नियामक र बजारका सबै सरोकारवालाबीचको सहकार्यमा निर्भर रहेको उल्लेख गर्दै भने,
“ब्रोकर एसोसिएसन हाम्रो बजारको मेरुदण्ड हो। तपाईंहरूको निष्ठा, ज्ञान र सेवाबिना बजार दिगो रहन सक्दैन। सकारात्मक लगानी संस्कृतिको विकास केवल नियम र प्रणालीबाट होइन, व्यवहार, सोच र समर्पणबाट पनि सम्भव हुन्छ।”
कार्यक्रमको अन्त्यमा उनले स्टक ब्रोकर एशोसिएसन अफ नेपालप्रति धन्यवाद व्यक्त गर्दै भने,
“अन्धकारभन्दा उज्यालो रोजौं, नकारात्मकताभन्दा विश्वास रोजौं, र हरेक कारोबारमा अनुशासन र इमानदारी कायम राखौं। संस्कार, पारदर्शिता र दीर्घकालीन सोचसहित अघि बढ्दा मात्र हाम्रो पूँजी बजार स्थिर, दिगो र सशक्त बन्न सक्छ।”