·

नेप्से फेरि ओरालो, कारोबार रकम भने सामान्य बढ्यो

Author

NEPSE TRADING

नेप्से फेरि ओरालो, कारोबार रकम भने सामान्य बढ्यो

बुधबारको कारोबार दिन नेप्से परिसूचक निरन्तर घट्दै २७२६.३३ विन्दुमा बन्द भएको छ। मंगलबार घटेको बजारले यस दिन पनि सोही क्रमलाई कायम राखेको हो। यस दिन नेप्से परिसूचक १५.६४ अंकले घट्यो भने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले, फ्लोट इन्डेक्स १.१६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंकले घटेको छ।

तर कारोबार रकम भने सामान्य वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३२६ कम्पनीका ६८ हजार ५९४ पटकको कारोबारमार्फत १ करोड १३ लाख ४५ हजार कित्ता शेयर किनबेच भई ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किटमा बन्द भयो। सो कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ४० पैसा बढेर ३२३ रुपैयाँ ६० पैसामा पुगेको छ। यस्तै, यूनियन हाइड्रोपावरको मूल्य ७% बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४% भन्दा कम रह्यो। विपरित, लिबर्टी इनर्जीको मूल्य ६.९९% ले घट्दै यस दिन सर्वाधिक गिरावटमा रह्यो।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसले करिब ३३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गर्यो। सोही दिन लिबर्टी इनर्जीमा करिब साढे २७ करोड र नेपाल पुनर्बीमा कम्पनीमा २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये २ उपसमूहमा मात्र वृद्धि देखिएको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फण्ड र व्यापार उपसमूहमा वृद्धि भए पनि जलविद्युत, होटल तथा पर्यटन र विकास बैंक उपसमूहमा उल्लेख्य गिरावट देखियो।

Related News