लगातार ६ दिनसम्म हरियाली देखिएको नेप्से बिहीबार भने करेक्सनको चपेटामा पर्यो। साताको अन्तिम दिन नेप्से सूचक १८.१४ अंकले घट्दै २६३५.०९ मा झर्यो। तर, कारोबार रकम भने उल्लेखनीय रूपमा बढेर ७ अर्ब ३० करोड रुपैयाँ नाघ्यो। होटल तथा पर्यटनबाहेक अन्य सबै समूहको सूचक घटेको यो दिन ३०८ कम्पनीका १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।
केही विश्लेषकहरूले बिहीबारको गिरावटलाई पुस मसान्तको दबाबसँग जोडेर हेरेका छन् भने अन्यले ट्रेडरहरूले नाफा बुक गरेको कारणले गिरावट आएको बताएका छन्। टी प्लस टु सेटलमेन्ट प्रक्रियाअनुसार शुक्रबार र शनिबार बजार बन्द हुने भएकाले बिहीबार नै सेयर बिक्री गरेर रकम खातामा जम्मा गराउने अन्तिम अवसर रहेको हुँदा लगानीकर्तामा बिक्रीको चाप देखिएको विश्लेषण गरिएको छ।
पुसको अन्तिम दिन सोमबार भएकाले कर्जाको साँवा र ब्याज चुक्ता गर्न बिहीबार बिक्री दबाब बढेको ब्रोकरहरूको भनाइ छ।
माघ लागेसँगै दोस्रो त्रैमासको वित्तीय विवरण आउन थालेपछि बजारले नयाँ ऊर्जा पाउने अनुमान गरिएको छ। सकारात्मक मुनाफाका विवरणहरू आएमा लगानीकर्ताको खरिद क्षमता बढ्ने र बिक्री दबाब घट्ने सम्भावना प्रबल छ। साथै, बैंकहरूले माघका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने भएकाले बजारमा थप सक्रियता देखिने विश्लेषकहरूको धारणा छ।
नेप्सेले झन्डै ६ महिनाको साइडवेज अवस्थालाई समाप्त गर्दै बुलिस संकेत देखाइरहेको छ। १८०० को स्तरबाट उठेको बजारले झिनो करेक्सनका बाबजुद माथिल्लो दिशा समाउन सक्ने विश्वास गरिएको छ।
प्राविधिक विश्लेषण
लगातार ६ दिनको वृद्धिपछि बिहीबार आएको करेक्सनलाई सामान्य मानिएको छ। प्राविधिक विश्लेषकहरूले यसलाई कुनै गम्भीर असर नगर्ने बताएका छन्। धेरै प्राविधिक इण्डिकेटरहरूले यसअघि नै बाई सिग्नल दिएका थिए, र आजको घटावटले ती संकेतहरूमा कुनै असर परेको छैन।
ब्रोकर विश्लेषण
बिहीबारको कारोबारमा सबैभन्दा बढी कारोबार गर्ने १० ब्रोकरमध्ये ५ ले तुलनात्मक रूपमा बढी खरिद गरेका छन् भने अन्य ५ ले बढी बिक्री गरेका छन्।
ब्रोकर नं. ६५ ले ४८ करोड ३८ लाखको खरिद र ७० करोड ४ लाखको बिक्री गरेको छ।
ब्रोकर नं. ५८ ले २९ करोड ६३ लाखको खरिद र ४८ करोडको बिक्री गरेको छ।
ब्रोकर नं. ७२ ले ३० करोडको खरिद र २५ करोडको बिक्री गरेको छ।
ब्रोकर नं. ४९ ले २५ करोडको खरिद र २७ करोडको बिक्री गरेको छ।
सुपर मादी हाइड्रोपावरको ७९.४७% खरिद ब्रोकर नं. ६५ ले गरेको छ भने हिमालयन उर्जा विकास कम्पनीको ३६.४७% खरिद ब्रोकर नं. ४९ ले गरेको छ। यस्तै, चिलीमे हाइड्रोपावरको ८३% खरिद ब्रोकर नं. ५६ ले गरेको छ भने रसुवागढी हाइड्रोपावरको ४०% खरिद ब्रोकर नं. ५८ ले गरेको छ।
आजको बजारको गिरावट अल्पकालीन दबाबलाई हटाएर दीर्घकालीन सम्भावनाको आधार तयार गर्दैछ। जानकारहरूले दीर्घकालीन लगानीका लागि राम्रो वित्तीय सूचक भएका कम्पनीहरूमा ध्यान दिन सल्लाह दिएका छन्। बजारको बुलिस ट्रेन्डले लगानीकर्ताको मनोबललाई थप उत्साहित गर्ने अपेक्षा गरिएको छ।





