नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्ने
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई समयमै आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिएको छ। नेप्सेले जारी गरेको सूचनामा कम्पनीका सूचना तथा निर्णयले धितोपत्रको बजार मूल्यमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता विषय तत्काल नेप्सेमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
लाभांश सम्बन्धी सूचना तुरुन्त
नेप्सेले स्पष्ट पारेको छ कि नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन गर्ने निर्णय भएको खण्डमा सो निर्णय भएको क्षणमै सूचनासहित सञ्चालक समितिको बैठक बसेको समय समेत नेप्सेलाई जानकारी गराउनुपर्नेछ। साथै आर्थिक वर्ष, बुक क्लोज मिति, अनुपात तथा शेयर संख्या वा रकम पनि खुलाउनुपर्नेछ।
धितोपत्र मूल्यमा असर पार्ने घटनाको प्रकटीकरण
कम्पनीका निर्णय वा घटनाले बजार मूल्यमा असर पार्ने खण्डमा सो विवरण सोही दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अघि अर्थात् बिहान १०:३० बजेसम्म कम्पनीको आधिकारिक वेबसाइटमार्फत समेत सार्वजनिक गर्नुपर्नेछ।
अनिवार्य वित्तीय विवरण
लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आ.व. समाप्त भएको पाँच महिनाभित्र बुझाउनुपर्नेछ। त्यस्तै, प्रति शेयर आम्दानी, मूल्य-आय अनुपात, प्रति शेयर खुद सम्पत्ति मूल्य लगायत विवरण सहितको त्रैमासिक प्रतिवेदन त्रैमास समाप्त भएको ३० दिनभित्र पेश गर्नुपर्ने नेप्सेले जनाएको छ।
विशेष सूचना र पारदर्शिता
१० करोड रुपैयाँ वा सो भन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय भएमा सोको जानकारी तुरुन्त दिनुपर्नेछ।
सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा लेखा विभाग प्रमुखमा हेरफेर भएमा तुरुन्त जानकारी गराउनुपर्नेछ।
अदालतमा दायर १० करोड रुपैयाँ वा सो भन्दा बढी दायित्व हुने सम्भावना भएको मुद्दा भएमा सोको विवरण दिनुपर्नेछ।
अन्य महत्वपूर्ण बुँदा
सामूहिक लगानी कोष व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य र लगानी विवरण मासिक रूपमा १५ दिनभित्र नेप्सेमा बुझाउनुपर्नेछ।
कम्पनी गाभिने, विलय हुने वा स्वामित्व परिवर्तन सम्बन्धी निर्णय भएमा सो जानकारी निर्णय भएको दिनमै वा भोलिपल्ट कारोबार सुरु हुनु अघि नै दिनुपर्नेछ।
आ.व. समाप्त भएको तीन महिनाभित्र वार्षिक शुल्क बुझाउनुपर्नेछ।
प्राकृतिक विपत्ति, तालाबन्दी वा आकस्मिक कारणले कम्पनीको दैनिक काम रोकिएमा तुरुन्त जानकारी गराउनुपर्नेछ।
शेयर स्वामित्व र साधारण सभा
एउटै व्यक्ति वा संस्थाले ५ प्रतिशत वा सो भन्दा बढी शेयर किनेमा तुरुन्त जानकारी दिनुपर्नेछ।
नगदको सट्टा शेयर दिएमा पनि सो विवरण तत्काल उपलब्ध गराउनुपर्नेछ।
साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन, वासलात, नाफा-नोक्सानी विवरण, छलफलका विषय सूची अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
सभामा पारित भएका प्रस्ताव र निर्णयसम्बन्धी विवरण सभापछि एक महिनाभित्र बुझाउनुपर्नेछ।
यसरी, नेप्सेले जारी गरेको नयाँ निर्देशनले कम्पनीहरुलाई अझ पारदर्शी बनाउन र लगानीकर्ताको हित संरक्षण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।