नेप्से घट्दा कारोबार रकम पनि खुम्चियो
Author
NEPSE TRADING

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढ्दै आएको नेप्से यस दिन १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा झरेको हो। यससँगै सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेको छ। परिसूचकसँगै कारोबार रकम पनि घटेको देखिएको छ। आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारबाट ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता शेयर किनबेच भएको हो। यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य १० प्रतिशतले बढ्दै शीर्ष गेनर बनेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घट्दै शीर्ष लुजर बनेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल नै अग्रस्थानमा रहँदै २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये विकास बैंक र म्युचुअल फण्ड बाहेक अन्य ११ उपसमूहका परिसूचक घटेका छन्, यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।


