साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा गिरावट देखियो। विज्ञका अनुसार हिजो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लाभांशसम्बन्धी कार्यविधि का कारण बजारमा अल्पकालीन अन्योलता देखिए पनि सो नियम दीर्घकालमा सकारात्मक रहेको बताएका छन्।
बुधबार २८०० विन्दुभन्दा माथि पुगेको नेप्से बिहीबार ३८.१० अंकले घट्दै २७८१ मा झर्यो। लगातार उक्लँदै आएको बजार फेरि मनोवैज्ञानिक २८०० विन्दुभन्दा तल झरेको हो।
तर परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार कारोबार ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ नाघ्यो। नेप्सेका तथ्यांकअनुसार ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर ७८ हजार ३७९ पटक किनबेच भए।
विकास हाइड्रोपावर सातौँ दिन पनि सर्किटमा
हालै लिस्टिङ भएको विकास हाइड्रोपावर फेरि पनि लगानीकर्ताको केन्द्रबिन्दु बन्यो। लगातार सातौँ दिन यस कम्पनीको शेयर सकारात्मक सर्किट लेभल मा पुगेको छ। बिहीबार मात्रै यसको मूल्य ५१ रुपैयाँ ७० पैसाले बढेर ५६८ रुपैयाँ ९० पैसामा बन्द भयो।
यो कम्पनी बजारमा चर्चाको विषय बनेको छ। तर, अन्य कम्पनीहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा तल सीमित रह्यो। यस दिन ओरियन्टल होटल ४.७१ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बन्यो।
बीमा र पुनर्बीमामा लगानीकर्ताको आकर्षण
कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै हिमालयन रि इन्स्योरेन्स ले ६० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्यो भने हिमालयन डिष्टिलरी को कारोबार रकम ३५ करोड नाघ्यो।
यी तीन कम्पनीको उच्च कारोबारले लगानीकर्ताको ध्यान अझै बीमा तथा उत्पादन क्षेत्रमा केन्द्रित रहेको देखायो।
उपसमूहगत उतारचढाव
यस दिनका १३ उपसमूहमध्ये २ उपसमूह (म्युचुअल फन्ड र निर्जीवन बीमा) मात्र बढे भने बाँकी ११ उपसमूह घटे।
सबैभन्दा बढी घट्ने: विकास बैंक (२.३८%)
१% भन्दा बढी घट्ने: वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार।
विश्लेषकको भनाइ : आत्तिने बेला होइन
विश्लेषकका अनुसार, परिसूचक घटेपनि कारोबार रकम बढ्नु बजारमा लगानीकर्ताको सक्रियता अझै बलियो रहेको प्रमाण हो। बजार २८०० विन्दुभन्दा तल झरेपनि विशेषगरी बीमा र पुनर्बीमा क्षेत्रमा लगानीकर्ताको आक्रामक चासो देखिएको छ।
उनीहरूका अनुसार यसले बजारबाट मिश्रित सन्देश दिएको छ। अल्पकालीन उतारचढाव भए पनि ठूला लगानीकर्ताको सक्रियता कायमै छ, जसले बजारमा तरलता बलियो रहेको संकेत गर्दछ।
प्रविधिक विश्लेषण
प्राविधिक विश्लेषकका अनुसार बजार घटेपनि अझै वान–क्याण्डल सेल सिग्नल आएको छैन। बिहीबारको क्याण्डललाई “नन–ट्रेड” क्याण्डलको संज्ञा दिइएको छ।
२८०० को मनोवैज्ञानिक विन्दु तल झरे पनि बजार २७८० भन्दा तल बन्द नभएको विषयलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।
ब्रोकर विश्लेषण
ब्रोकरस्तरमा भने बुधबार र बिहीबारको बजार ठ्याक्कै उल्टो देखियो। कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ६ ले बढी सेल गरेका छन् भने ४ ले बढी बाइ गरेका छन्।
बढी बाइ गर्ने: ५८, ४२, ४४ र १७ नं. ब्रोकर
बढी सेल गर्ने: ४५, ३४, ५७, ४९, ६२ र २८ नं. ब्रोकर
विशेषगरी ३९ नं. ब्रोकरमार्फत लगानीकर्ताले यूएमएचएल (UMHL) का १ लाख २३ हजार कित्ता शेयर खरिद गरेका छन्, जुन कुल खरिदको ३६ प्रतिशत हो। औसत मूल्य ५७६ रुपैयाँ रहेको छ। विश्लेषकका अनुसार यसमा ठूला खेलाडी प्रवेश गरेको देखिन्छ।
त्यस्तै सीजीएच (CGH) मा पनि ठूला लगानीकर्ताको प्रवेश देखिएको छ। ४२ नं. ब्रोकरमार्फत १ लाख २३ हजार कित्ता शेयर खरिद भएको छ, जसको औसत मूल्य १०७१ रुपैयाँ छ। यो कुल खरिदको ५७ प्रतिशत हो।
सेलतर्फ भने केबिएल (KBL) मा २ लाख ५ हजार कित्ता (४५ नं. ब्रोकरमार्फत) बिक्री भएको छ भने यूएमएचएल (UMHL) मा पनि १ लाख ३८ हजार कित्ता (२८ नं. ब्रोकरमार्फत) बिक्री भएको देखिन्छ।





