·

निरन्तर तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Author

NEPSE TRADING

निरन्तर तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर तेस्रो दिन पनि घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन १३.८८ अंकले घट्दै २५८१.२१ विन्दुमा झरेको हो। यससँगै सेन्सेटिभ इण्डेक्स २.२५ अंक, फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेका छन्। बजार घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३३२ स्टकको ६५ हजार ३१२ पटकको कारोबारमार्फत ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बराबरको ९१ लाख ६७ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ भने १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ र १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य उल्लेख्य रूपमा बढेको छ। यता, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहँदा सन नेपाल लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको कारोबार पनि उच्च देखिएको छ। १३ उपसमूहमध्ये केवल व्यापार उपसमूहको परिसूचक बढेको छ भने होटल तथा पर्यटन र जीवन बीमा उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ।

Related News