·

निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

Author

NEPSE TRADING

निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

प्रतिनिधि सभा निर्वाचनअघिको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले बढेर बन्द भएको छ। लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको बजारले मंगलबार पनि सकारात्मक लय कायम राख्दै ३८.५२ अंकले वृद्धि भई २७१२.४९ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले बढेका छन्। बजारसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३२९ कम्पनीका ६१ हजार ३२९ पटकको कारोबारबाट ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा अन्तिम मूल्य कायम भएको छ। त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य करिब १० प्रतिशतले बढ्दा मोलुङ्ग हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घटेका शेयरहरुको गिरावट भने ३ प्रतिशतभन्दा कममा सीमित रहेको देखिएको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदा यसको ३४ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। साथै रिडी हाइड्रोपावर र एसवाई प्यानल नेपालको कारोबार रकम पनि उल्लेख्य रहेको छ।

उपसमूहगत रुपमा हेर्दा १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूह मात्र सामान्य घटेको छ। जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले बढ्दा बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा तथा अन्य उपसमूहहरू १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

Related News