नेप्से परिसूचक लगातार दोस्रो दिन सोमबार पनि हरियो रहँदै ९.१९ अंकले उकालो लागेर २,६३१.४८ विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो दिन आइतबार २६.५३ अंकले वृद्धि भएको बजारमा सोमबारको उकालोले सकारात्मक लय कायम रहेको संकेत दिएको छ। तर, कारोबार रकम घटेर ६ अर्ब ३८ करोड रुपैयाँमा सीमित हुनु भने लगानीकर्ताको सतर्कता झल्काउने संकेत हो।
सो दिन २५१ कम्पनीको कारोबार हुँदा १४५ कम्पनीको शेयर मूल्य बढ्यो भने १०३ कम्पनीको घट्यो। उपसमूह विश्लेषणअनुसार १३ मध्ये ९ उपसमूह उकालो लाग्दा उत्पादन तथा प्रशोधन उपसमूह १.६३% ले अगाडि रह्यो। लघुवित्त पनि करिब १% ले बढ्दै लगानीकर्ताको आकर्षण बढाएको छ।
राप्ती हाइड्रोले सकारात्मक सर्किट हिट गर्दा, धौलागिरी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर मूल्य क्रमशः ९.४८% र ९.३% ले उकालो लाग्दा लघुवित्ततर्फको उत्साह देखिएको छ। उता, पञ्चकन्या माइ हाइड्रोपावरको शेयर भने ४.९२% ले घट्यो।
कारोबार रकमतर्फ साहस उर्जा कम्पनी शीर्ष स्थानमा रहँदै ३६ करोड ५३ लाखको कारोबार भयो। सानिमा माइ हाइड्रोपावर र बुटवल पावर कम्पनीले क्रमशः ३१ करोड र ३० करोडको कारोबार गरे।
प्रविधिक विश्लेषणको दृष्टिमा
आइतबारको बुलिस क्यान्डलपछि सोमबार स्पिनिङ टप बनेको छ जसले अनिश्चितता देखाउँछ, तर सँगै बजारले बुलिश डिसेन्डिङ ट्रायाङ्गल प्याटन बनाउने संकेत दिएको छ। हाल बजार २६५० लेभल आसपासको रेसिस्टेन्स र मिडल लाइन नजिक छ तर क्लोजिङ त्यसभन्दा तल आएको छ, जसले बजार अझै निर्णायक मोडमा पुग्न नसकेको देखाउँछ।
कारोबार रकम उच्च नहुनु र हाईड्रोको योगदान घट्दै जानुले बजारमा सतर्कता र सेक्टर रोटेशनको संकेत दिएको छ। बुलिश ट्रेन्डलाई स्थायीत्व दिन बैंकिङ उपसमूहको योगदान महत्त्वपूर्ण हुने देखिन्छ।
ब्रोकर विश्लेषण
ब्रोकर क्रियाकलापमा ब्रोकर ५८ ले सबैभन्दा धेरै ३५ अर्ब ५२ करोड बराबरको खरिद गर्दै अग्रता लिएको छ। ब्रोकर ४४, ६२, ४५ र ८८ समेतले ठूला संख्यामा शेयर खरिद गरेका छन्। यता, ब्रोकर ५६ लगायतका केही ब्रोकरहरू बिक्रीतर्फ हावी देखिएका छन्। विशेषगरी ब्रोकर ६ नं. बाट समान संख्यामा बाय÷सेल देखिनुले म्याचिङ कारोबार भएको अनुमान गरिएको छ।
बजारमा लगातार हरियाली देखिए पनि कारोबार रकम घट्दै जानु, रेसिस्टेन्स लेभल नतोडिनु र ब्रोकर बिक्री दबाब कायमै हुनुले बजार अझै अल्पकालीन दोधारमै रहेको संकेत दिन्छ। २६५० माथिको मजबुत क्लोजिङ नभएसम्म सशक्त अपमूभ सुरु नहुन सक्ने विश्लेषण गरिन्छ। लगानीकर्ताले आगामी केही सत्रमा सावधानीपूर्वक कारोबार गर्नुपर्ने देखिन्छ।





