·

नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलता

Author

NEPSE trading

नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलता

शेयर बजार लगातार छैटौं दिन पनि हरियालीमै देखिएको छ। असार १५ यता उकालो लाग्दै आएको नेप्से सूचक आइतबार २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ। छैटौं दिनसम्ममा सूचक ११० अंकले बढिसकेको छ।

बजारको रफ्तार मौद्रिक नीतिप्रतिको आशावादबाट प्रेरित देखिएको विश्लेषकहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माण प्रक्रिया तीव्र बनाइरहेकाले लगानीकर्ता अझै सक्रिय छन्।

तर, आइतबार बजार बन्द हुँदा बनेको डोजी क्यान्डलले भने बजारमा अनिश्चितताको संकेत दिएको छ। सूचक बलियो रेसिस्टेन्स नजिकै गएर थामिएको र अघिल्लो उच्च बिन्दु ब्रेक गर्न नसकेको प्राविधिक विश्लेषणले देखाएको छ।

हाईड्रोपावर समूहमा भारी प्रफिट बुकिङ देखिएको छ भने अन्य समूहजस्तै फाइनान्स र ‘अदर्स’ उपसमूहमा क्रियाशीलता बढेको छ।

आइतबार ९ अर्ब ५० करोड बराबरको कारोबार भयो, जुन अघिल्लो दिनको ९ अर्ब ६४ करोडको तुलनामा केही कम हो। १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढ्दा ६ उपसमूह घटेका छन्।

नेपाल फाइनान्सको शेयर सर्किट लेभलमा पुग्दा गार्डियन माइक्रो लाइफको शेयर मूल्य ७% भन्दा बढी बढेको छ। तर, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८% ले घटेको छ।

ट्रेड भोल्युममा नेपाल रि इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको ४९ करोड ४० लाख बराबरको कारोबार भयो।

ब्रोकर हाउसहरूको गतिविधिमा पनि बिक्री पक्ष बलियो देखिएको छ। प्रमुख १० ब्रोकरमध्ये अधिकांशले बिक्री बढाएका छन्।

प्राविधिक रूपमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ र बलियो बुल मुभमेन्टको लागि हालको रेसिस्टेन्स ब्रेक गर्नु आवश्यक देखिन्छ।
मौद्रिक नीतिको पर्खाइ, सस्तो ब्याजदर, र तरलता बढ्दो अवस्था भए पनि बजार अनिश्चितताको संकेत दिइरहेको छ। अबको गति र ट्रेन्ड नतिजामुखी मौद्रिक नीतिबाट प्रभावित हुनेछ।

Related News