नेप्से पुनः २६०० विन्दुभन्दा तल झर्यो, कारोबार रकम बढ्दै ५ अर्ब ४१ करोड पुग्यो
Author
NEPSE TRADING

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर पुनः २६०० विन्दुभन्दा तल झरेको छ। यसअघि मंगलबार नेप्से २६०० विन्दुभन्दा तल पुगेको थियो भने बुधबार बढेर सो विन्दुभन्दा माथि पुगेको थियो। तर बिहीबार नेप्से फेरि घट्दै ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.०८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले घटेका छन्।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बिहीबार ३२० कम्पनीका ५० हजार ४३७ पटकका कारोबारमार्फत १ करोड ८ लाख ६८ हजार कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँमा किनबेच भएका छन्।
यस दिन दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। माबिलुङ्ग मंगलबारदेखि कारोबारमा आएको कम्पनी हो भने दरमखोला बिहीबारदेखि कारोबारमा आएको हो। त्यस्तै, उपकार लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेका छन् भने सम्पदा लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेर दिनको सबैभन्दा बढी घट्ने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट् शीर्ष स्थानमा रह्यो, जसको कारोबार रकम ३० करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यसपछि राधी हाइड्रोपावरको साढे ३० करोड रुपैयाँ र हिमालयन डिष्टिलरीको साढे २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये दुई उपसमूह— उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड—को परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूह घटेका छन्। घटेका उपसमूहहरूको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।


