·

आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावट

Author

NEPSE TRADING

आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावट

आईतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन नेप्से १९.८५ अंकले घट्दै २७ सय विन्दुबाट तल झरेर २६९४.२० विन्दुमा बन्द भएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले ओरालो लागेको छ। बजार सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जसले लगानीकर्ताको सतर्कता झल्काएको छ।

आईतवारको कारोबारमा २६० कम्पनीका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब १० करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। जबकि अघिल्लो कारोबार दिन बिहीबार १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आजको बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ। त्यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ८.१९ प्रतिशतले वृद्धि भएको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने रवा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.३४ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको मात्रै ५५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आईतवार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक मात्रै सामान्य अंकले बढेको छ। बाँकी अधिकांश उपसमूह ओरालो लाग्दा होटल तथा पर्यटन उपसमूह १.७५ प्रतिशत र जलविद्युत उपसमूह १.३६ प्रतिशतले घटेको छ। यस दिनको कारोबारपछि बजार पूँजीकरण ४५ खर्ब २३ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ।

Related News