दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे विश्लेषक सुवासचन्द्र ढुंगानाको अध्ययन
Author
NEPSE TRADING

नेपाली पूँजी बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे अघिल्ला पाँच वर्षको तथ्यांकसहितको अध्ययन सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत २०७७ देखि २०८१ सालसम्मको फूलपाती अघिल्लो कारोबार दिन, फूलपातीकै दिन र त्यसपछिका १५ कारोबार दिनसम्मको नेप्से परिसूचकको तुलना गर्दै बजारको चलनचल्तीको प्रवृत्ति प्रस्ट पारेका हुन्।
ढुंगानाले प्रस्तुत गरेको तथ्यांक अनुसार,
२०७७ सालमा फूलपाती अघि नेप्से ३० अंकले बढेको र पछि १५८ अंकले बढेको देखिन्छ।
२०७८ सालमा फूलपाती अघि १७३ अंकले घटे पनि पछि १९० अंकले बढेको छ।
२०७९ सालमा ८६ अंकले घटे पनि पछि १११ अंकले बढेको देखिन्छ।
२०८० सालमा ११९ अंकले घटे पनि पछि ४ अंकले मात्र सुधार भएको छ।
२०८१ सालमा फूलपाती अघि ३० अंक र पछि ७० अंकले बजार बढेको देखिएको छ।
औसत परिणाम
पाँच वर्षको आधारमा हेर्दा फूलपाती अघिल्ला १५ कारोबार दिनमा बजार औसत ६३.६ अंकले घटेको तर फूलपाती पछिल्ला १५ कारोबार दिनमा भने औसत १०६.६ अंकले बढेको निष्कर्ष आएको छ।
उनको भनाइमा, बुलिश बजारमा दशैंअघि र पछाडि दुवै अवधिमा बजार बढ्ने देखिन्छ भने बियरिस बजारमा दशैंअघि बजार घटे पनि पछाडि केही सुधार हुने प्रवृत्ति पाइन्छ। यसका आधारमा दशैंअघि बेच्ने भन्दा पनि किन्नेले लामो समयका लागि लाभ लिन सक्ने सम्भावना बढी हुने उनको तर्क छ।
तर, उनले सावधानी अपनाउँदै अघिल्ला ट्रेन्ड भविष्यमा पनि दोहोरिन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको प्रष्ट पारेका छन्। ढुंगानाका अनुसार, २०८२ सालको दशैंसम्म अझै १७ कारोबार दिन बाँकी रहेका कारण यसपालिको बजार कुन मोड लिन्छ भन्ने पर्खेर हेर्नुपर्ने हुन्छ।
नोटः सुवासचन्द्र ढुंगाना नेपालका शेयर बजारमा चर्चित लगानीकर्ता तथा विश्लेषक हुन्।