नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यसमिति चयन भएको छ । वैशाख २२ गते सम्पन्न निर्वाचनको सम्पूर्ण मतपरिणाम बुधबार सार्वजनिक भएसँगै महासंघले नयाँ नेतृत्व पाएको हो । महासंघ विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । यससँगै निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनमा नयाँ शक्ति समीकरण स्थापित भएको छ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार ७३ पदका लागि १३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्ला–नगर, वस्तुगत तथा एशोसिएट समूहमा तीव्र प्रतिस्पर्धा देखिएको निर्वाचनले महासंघभित्रको आन्तरिक राजनीतिक ध्रुवीकरणलाई समेत स्पष्ट पारेको छ । केही पदमा मत बराबरी भएपछि आधा–आधा कार्यकाल बाँडफाँट गर्ने सहमति समेत भएको छ ।
जिल्ला–नगरतर्फ उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्मा ८७ मतसहित अगाडि रहँदा श्रेष्ठले ८० मत प्राप्त गरेका छन् । खुला सदस्यतर्फ अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ गीता आमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । प्रदेश सदस्यतर्फ कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकास कुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ तथा लुम्बिनीबाट यज्ञ प्रसाद भट्टराई र बालकृष्ण सुवेदी विजयी भएका छन् । कर्णालीबाट पदम बहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेशतर्फ भने रोचक अवस्था देखिएको छ । दानबहादुर सुर्मेली र पदमराज चौलागाईंले समान ७/७ मत प्राप्त गरेपछि दुवैले पालैपालो आधा–आधा कार्यकाल जिम्मेवारी सम्हाल्ने सहमति गरेका छन् । यसले महासंघभित्र सहमतिमूलक राजनीतिक अभ्यास अझै कायम रहेको संकेत गरेको छ ।
वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले शिव प्रसाद घिमिरेलाई केवल ३ मतले पराजित गरे । श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत प्राप्त गरेका थिए । सदस्यतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
यसै समूहमा निरज बहादुर चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०/५० मत ल्याएका कारण उनीहरूले पनि आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् । महिला सदस्यतर्फ सुनिता न्हेमहाफुकी विजयी भएकी छन् । उनले कमला श्रेष्ठलाई ६ मतले पराजित गर्दै जीत हासिल गरेकी हुन् । न्हेमहाफुकीले ५४ मत प्राप्त गर्दा कमला श्रेष्ठले ४८ मत पाएकी थिइन् ।
एशोसिएटतर्फ उपाध्यक्ष पदमा प्रवल जंग पाण्डेले प्रभावशाली जित निकालेका छन् । उनले निवर्तमान उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई ३२९ मतान्तरले पराजित गरेका हुन् । पाण्डेले १ हजार ७९ मत प्राप्त गर्दा श्रेष्ठले ७५० मत ल्याएकी थिइन् । यस परिणामलाई एशोसिएट समूहमा नयाँ पुस्ताको प्रभावशाली उदयका रूपमा समेत हेरिएको छ ।
एशोसिएट समूहबाट अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी, बु लामिछाने, बाबु काजी कार्की, राजेश कुमार अग्रवाल, सचिन ढकाल र सुयस प्याकुरेल कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै रामशरण भण्डारी, शक्ति कुमार वेगनी, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा पनि विजयी भएका छन् ।
महिला सदस्यतर्फ अभिज्ञ मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । माथेमाले १ हजार १५६ मत प्राप्त गर्दा मल्लले १ हजार ५९ मत ल्याएकी थिइन् । उनीहरूले जमुना पौडेल र शोभा ज्ञवालीलाई पराजित गरेका हुन् ।
द्वीराष्ट्रिय समूहबाट मनोज पौडेल विजयी भएका छन् भने संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
नयाँ कार्यसमिति चयनसँगै महासंघमा अब निजी क्षेत्रका एजेन्डा, लगानी वातावरण सुधार, उद्योग व्यवसाय विस्तार, बैंकिङ ब्याजदर, कर नीतिलगायत विषयमा नयाँ नेतृत्वले कस्तो भूमिका खेल्छ भन्ने चासो व्यवसायिक वृत्तमा बढेको छ । निजी क्षेत्र अहिले आर्थिक मन्दी, लगानी संकुचन र बजार माग घट्दो अवस्थाबाट गुज्रिरहेका बेला महासंघको नयाँ नेतृत्वमाथि सरकारसँग प्रभावकारी समन्वय गरेर व्यवसायिक वातावरण सुधार गर्ने दबाब देखिएको छ ।





