सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्ने
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत कम्पनीहरूको लगानी व्यवस्थापनमा नयाँ नियम लागू भएको छ। नयाँ नियमअनुसार कुनै पनि लगानीकर्ताले एउटै कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गरेमा नेप्सेलाई तुरुन्त जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
नेप्सेले सूचीकृत कम्पनीलाई वित्तीय विवरणसँगै सम्पूर्ण लगानी विवरण समयमै उपलब्ध गराउन निर्देशन दिएको छ। यसअनुसार कम्पनीले लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र र त्रैमासिक विवरण भने त्रैमासिक सकिएको १ महिनाभित्र नेप्सेलाई बुझाउनुपर्नेछ।
नयाँ नियमअन्तर्गत कम्पनीले बुक क्लोज गर्ने निर्णय, १० करोड रुपैयाँभन्दा बढी सम्पत्ति खरिद/बिक्री, सञ्चालक समिति वा सदस्यमा हुने हेरफेर, तथा १० करोड रुपैयाँभन्दा बढी दायित्व बहन गर्ने निर्णय पनि तत्काल नेप्सेलाई जानकारी गराउनुपर्नेछ।
नेप्सेले सूचीकृत कम्पनीलाई कुल १९ प्रकारका विवरण नियमित रूपमा उपलब्ध गराउनुपर्ने निर्देशन जारी गरेको छ। यसले लगानीकर्तालाई पारदर्शी जानकारी उपलब्ध गराइ बजारमा विश्वास र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।