एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित
Author
NEPSE TRADING

एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा (AGM) भदौ १८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, कम्पनीले कायम चुक्ता पुँजीमा ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
सभामा प्रस्तुत विवरणअनुसार, कम्पनीले समीक्षा अवधिमा :
८ लाख डिम्याट खाता खोल्न,
५ वटा म्युचुअल फण्ड योजनामार्फत ५.४५ अर्ब रुपैयाँ व्यवस्थापन गर्न,
७२० जना लगानी व्यवस्थापन ग्राहकका लागि २.७ अर्ब रुपैयाँ व्यवस्थापन गर्न,
२३ कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न, र
“IDEA to IPO” सेवामार्फत १७ कम्पनीहरूको आईपीओ निष्कासन सम्पन्न गर्न सफल भएको छ।
प्रस्तावित लाभांश समेत गन्दा, कम्पनीले हालसम्म आफ्ना शेयरधनीलाई २९० प्रतिशत प्रतिफल उपलब्ध गराइसकेको जानकारी सभामा दिइएको छ।
एनआईसी एशिया क्यापिटलले क्यापिटल मार्केट सेवा क्षेत्रलाई डिजिटलिकरण, लगानी व्यवस्थापन, र आईपीओ प्रक्रियामा नयाँपन ल्याउँदै आफ्नो सुदृढ उपस्थिति कायम गरिरहेको जनाएको छ।