·

बैंक तथा वित्तीय संस्थाको वर्गीकरण मापदण्ड सुधार गर्न राष्ट्र बैंक कार्यदलको सुझाव

Author

NEPSE TRADING

बैंक तथा वित्तीय संस्थाको वर्गीकरण मापदण्ड सुधार गर्न राष्ट्र बैंक कार्यदलको सुझाव

नेपाल राष्ट्र बैंकले हाल लागू गरेको बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण मापदण्ड प्रभावकारी नभएको ठहर गर्दै त्यसमा सुधार गर्न सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंक ले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदलको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रथम, दोस्रो र तेस्रो वर्गमा विभाजन गर्नुपर्ने आवश्यकता औँल्याएको हो। कार्यदलका अनुसार वर्गीकरण गर्दा ग्राहक सेवा, राष्ट्र बैंकको सुपरीवेक्षण विभागबाट गरिएको समग्र जोखिम व्यवस्थापनको मूल्यांकन, राष्ट्र बैंकद्वारा गरिएको कारबाही, तथा पुँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, आम्दानी र तरलताजस्ता वित्तीय स्वास्थ्यका सूचकलाई आधार बनाउनुपर्नेछ। साथै, विगत पाँच वर्षको तथ्यांक प्रयोग गरी पछिल्लो वर्षलाई बढी भार दिने गरी (४०, ३०, १५, १० र ५ प्रतिशत) वर्गीकरण गर्नुपर्ने सुझाव दिइएको छ।
प्रतिवेदनमा हरेक वर्ष श्रावण महिनामा वर्गीकरण सम्पन्न गरी बैंकहरूको नयाँ सूची सार्वजनिक गर्न, निष्पक्ष र अनुभवी व्यक्तिको संयोजकत्वमा स्वतन्त्र वर्गीकरण समिति गठन गर्न तथा क, ख, ग, घ जस्ता शब्दले नकारात्मक सन्देश दिने भएकाले वाणिज्य बैंक, विकास बैंक, वित्त बैंक र लघुवित्त बैंक जस्ता नाम प्रयोग गर्न ऐन संशोधनको पहल गर्नुपर्ने उल्लेख छ। यसरी सुधार गरिँदा सबै संस्थाहरू क्रमशः प्रथम वर्गमा पुग्ने, स्वनियमन बलियो हुने र राष्ट्र बैंकको नियमन–सुपरीवेक्षणको बोझ कम भई वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कार्यदलको निष्कर्ष छ।

Related News