चालू आर्थिक वर्ष २०८२/०८३ को सुरुआत अर्थात् साउन महिनायता नेपालमा केवल ५ वटा जलविद्युत् कम्पनीले मात्र प्राथमिक शेयर निष्कासन (आईपीओ) का लागि स्वीकृति पाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार यस अवधिमा सोलु हाइड्रोपावर लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिड्ज लाइन इनर्जी लिमिटेड, सुर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिइएको हो।
स्वीकृति पाउनेमध्ये सोलु हाइड्रोपावरले कुल १० करोड कित्ता शेयरमध्ये ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ। भुजुङ हाइड्रोपावरले १ करोड कित्तामध्ये ८० लाख कित्ता संस्थापक र २० लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। त्यस्तै, सुर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिकले कुल ६८ लाख ९६ हजार ७४४ कित्तामध्ये ५५ लाख १७ हजार ३९४ कित्ता संस्थापक र १३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ। सुपर खुदी हाइड्रोपावरले १ करोड ५५ लाख कित्तामध्ये ३१ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्ने स्वीकृति पाएको छ।
यसैबीच, सेबोनमा अझै ३७ वटा जलविद्युत् कम्पनीहरू आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन्। तीमध्ये रिचेट जलविद्युत, बेनी हाइड्रो पावर प्रोजेक्ट, याम्बलिङ जलविद्युत, टक्सार पिखुवा खोला हाइड्रोपावर, कालिन्चोक हाइड्रोपावर, हिम रिभर पावर, लोअर इरखुवा हाइड्रोपावर, सानीगड हाइड्रो लगायतका कम्पनीहरू छन्। यस्तै, एपेक्स मकालु, एपोलो हाइड्रोपावर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, पुवा खोला–वन हाइड्रोपावर, निलगिरी खोला हाइड्रोपावर, हिम पर्वत हाइड्रोपावर, नुम्बुर हिमालय हाइड्रोपावर, युनाइटेड मेवा खोला हाइड्रोपावर, काबेली हाइड्रोपावर लगायतका कम्पनीहरूले पनि आईपीओ निष्कासनका लागि निवेदन दिइसकेका छन् तर हालसम्म अनुमति पाएका छैनन्।





