·
नयाँ प्रणाली जडानका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने
Author
NEPSE TRADING

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले पुरानो राहदानी प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ। नयाँ प्रणाली कार्यान्वयनको क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही समय प्रभावित हुन सक्ने विभागले जानकारी दिएको छ। विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्नेछ भने विभागबाट प्रदान गरिने सेवा करिब एक सातासम्म अवरुद्ध हुन सक्नेछ। नयाँ प्रणाली जडानपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने भएकाले उक्त अवधिमा राहदानी आवेदन प्रक्रिया र राहदानी जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ। विभागले नयाँ प्रणाली जडान प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। साथै नयाँ प्रणालीसम्बन्धी थप जानकारी निकट भविष्यमा सार्वजनिक गरिने विभागले जनाएको छ।



