काठमाडौं — साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष २६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको कारोबार पछिल्लो वर्ष केही सुधारिएको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२५ मा करिब १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको इबीआईटीडीए मार्जिन ४६ प्रतिशत पुगेको छ, जसले आम्दानीसँगै सञ्चालन नाफामा पनि सुधार भएको देखाउँछ।
प्रभुको आम्दानी पछिल्ला वर्षमा भने उतारचढावपूर्ण देखिन्छ। कम्पनीले सन् २०२३ मा ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०२४ मा एउटा हेलिकप्टर ग्राउन्डेड भएपछि कारोबार २६ करोड रुपैयाँमा झरेको थियो।
रेटिङ एजेन्सीले प्रभु हेलिकप्टरलाई ‘आईआरएन बीबी माइनस’ इश्युअर रेटिङ दिएको छ। कम्पनीको दीर्घकालीन बैंक कर्जा र अमेरिकी डलरमा रहेको कर्जाले पनि सोही रेटिङ पाएका छन्।
कम्पनीको वित्तीय संरचनामा भने उल्लेख्य सुधार देखिएको छ। सन् २०२१ मा १८.०६ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२५ मा १.२४ गुणामा झरेको छ। ब्याज भुक्तानी क्षमता र नगद प्रवाहमा पनि सुधार आएको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
तर कम्पनीको आम्दानी सीमित भूगोल र पर्यटन सिजनमा अत्यधिक निर्भर छ। कुल आम्दानीको करिब ५८ प्रतिशत खुम्बु क्षेत्रबाट मात्रै आएको छ। मनास्लुबाट १० प्रतिशत, सिमिकोटबाट ८ प्रतिशत र कञ्चनजंघाबाट ५ प्रतिशत आम्दानी भएको छ।
त्यस्तै, मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्मको मुख्य ट्रेकिङ तथा पर्वतारोहण सिजनले कम्पनीको वार्षिक आम्दानीको करिब ६९ प्रतिशत हिस्सा ओगटेको छ। यसले मौसम वा पर्यटन गतिविधिमा आउने अवरोधले कम्पनीको कारोबारमा प्रत्यक्ष असर पार्न सक्ने देखाउँछ।
इन्धनको मूल्यमा हुने उतारचढाव र अमेरिकी डलरमा रहेको कर्जा पनि कम्पनीका प्रमुख जोखिम हुन्। सन् २०२६ जुनसम्म कम्पनीसँग २.३२ मिलियन अमेरिकी डलर बराबरको दीर्घकालीन कर्जा रहेको छ।
सन् २०१५ देखि सञ्चालनमा रहेको प्रभु हेलिकप्टरले हेलि साइटसिइङ, उद्धार, मेडिकल इभ्याकुएसन, एरियल सर्भे र चार्टर उडान सेवा दिँदै आएको छ। कम्पनीसँग हाल दुईवटा एयरबस हेलिकप्टर छन्।
प्रभु हेलिकप्टरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। प्रस्तावित आईपीओको कुल आकार ६१ करोड २५ लाख रुपैयाँ छ।
आईपीओअघि नाफा, नगद प्रवाह र पुँजी संरचनामा आएको सुधार कम्पनीका लागि सकारात्मक पक्ष देखिए पनि आम्दानीको भौगोलिक तथा मौसमी निर्भरता लगानीकर्ताले हेर्नुपर्ने मुख्य जोखिमका रूपमा देखिएको छ।




