सुरक्षाको प्रत्याभूति भए निजी क्षेत्र थप लगानी गर्न तयार : अध्यक्ष ढकाल
Author
NEPSE TRADING

चितवन । सरकारले लगानीकर्तालाई सुरक्षाको स्पष्ट प्रत्याभूति गराए नेपालका निजी क्षेत्र थप लगानी गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ।
चितवन उद्योग वाणिज्य सङ्घको ५९ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि महासङ्घले समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै व्यवसायी तथा लगानीकर्तालाई सामन्तीका रूपमा हेर्ने प्रवृत्तिका कारण निजी क्षेत्र आन्दोलनको निसानामा पर्न थालेको उल्लेख गर्नुभयो।
रोजगारी सिर्जना र अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै अध्यक्ष ढकालले सरकारले ढुक्कसँग लगानी गर्न सक्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभयो। “राज्यलाई कर तिरेर आम्दानी गर्न सक्ने सुरक्षित र स्थिर लगानी वातावरण सरकारले सुनिश्चित गर्नुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि नेपालको आर्थिक विकासमा उद्योगी–व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउँदै लगानीका लागि सुरक्षित वातावरण बनाउने जिम्मेवारी सरकारकै हुने धारणा व्यक्त गरेका थिए।
चितवन उद्योग वाणिज्य सङ्घको अधिवेशनले दुईबर्से कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुने जनाएको छ।



