काठमाडौँ — पुँजीगत लाभकरको नयाँ दर लागू हुनुअघि घरजग्गा किनबेच तीव्र हुँदा गत आर्थिक वर्ष २०८२/८३ को असारमा यस क्षेत्रबाट हालसम्मकै बढी राजस्व संकलन भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असारमा घरजग्गा कारोबारबाट ११ अर्ब ९४ करोड रुपैयाँ राजस्व उठेको छ। यसअघि आर्थिक वर्ष २०७७/७८ को चैतमा संकलित ८ अर्ब ५९ करोड रुपैयाँ मासिक उच्च रेकर्ड थियो।
अघिल्लो आर्थिक वर्षको असारमा यस्तो राजस्व ६ अर्ब ५५ करोड रुपैयाँ थियो। एक वर्षमै राजस्व करिब ८२ प्रतिशत बढ्दा कारोबार संख्या भने झन्डै २५ प्रतिशत मात्र बढेको छ।
गत असारमा १ लाख ९३ हजार २८ वटा कारोबार भएका छन्। अघिल्लो वर्षको सोही महिनामा १ लाख ५४ हजार ७२० कारोबार भएका थिए। कारोबारको तुलनामा राजस्व धेरै बढ्नुमा उच्च मूल्यका सम्पत्तिको किनबेच र नयाँ करबाट बच्न असारमै पास गर्ने प्रवृत्तिले भूमिका खेलेको देखिन्छ।
सरकारले साउन १ देखि घरजग्गा बिक्रीबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढाएको छ। पाँच वर्षभित्र बिक्री गरिने सम्पत्तिको लाभकर ७.५ बाट १० प्रतिशत तथा पाँच वर्षभन्दा बढी समय राखिएको सम्पत्तिको कर ५ बाट ७.५ प्रतिशत पुर्याइएको छ।
कर बढ्नुअघि कारोबार पूरा गर्न खोज्नेको संख्या बढेकाले असारमा मालपोत कार्यालयमा चाप परेको घरजग्गा व्यवसायीहरू बताउँछन्। पछिल्ला महिनामा बिक्री गर्ने योजना बनाएकाले पनि करको थप भारबाट बच्न कारोबार अघि सारेको उनीहरूको भनाइ छ।
असारको उछालसँगै गत आर्थिक वर्षभर घरजग्गाबाट ६० अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो वार्षिक रूपमा हालसम्मकै उच्च भए पनि आर्थिक वर्ष २०७८/७९ को ५८ अर्ब रुपैयाँको तुलनामा वृद्धि करिब २ अर्ब ७३ करोड रुपैयाँ मात्र हो।
व्यवसायीहरूका अनुसार कित्ताकाटमा दिइएको अस्थायी सहजताले पनि कारोबार बढाएको थियो। सरकारले कात्तिकदेखि असार मसान्तसम्म कित्ताकाट खुला गरेपछि जग्गा विभाजन र किनबेच दुवैमा सुधार आएको थियो।
तर साउनदेखि कित्ताकाट पुनः रोकिएको र लाभकरसमेत बढेकाले चालु आर्थिक वर्षमा कारोबार घट्न सक्ने व्यवसायीको अनुमान छ। असारको वृद्धि बजारको दीर्घकालीन सुधारभन्दा पनि कर परिवर्तन र नीतिगत समयसीमाबाट प्रभावित अस्थायी उछाल हुन सक्ने देखिएको छ।




