काठमाडौं — नेपालको पुँजी बजारलाई थप पारदर्शी, आधुनिक र लगानीमैत्री बनाउन सेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १५ बुँदे सुधार प्रस्ताव पेस गरेका छन्।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्षसमेत रहेका रौनियारले सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टसमक्ष बुझाएको सुझावपत्रमा बजार विस्तारका लागि आवश्यक नीतिगत, प्राविधिक र संरचनागत सुधारका विषय समेटिएका छन्।
उनले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिनुपर्ने, पुँजीगत लाभकर घटाउनुपर्ने र सेयर कारोबारमा लाग्ने विभिन्न शुल्क पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका छन्।
सुझावपत्रमा हालको कमिसन प्रणाली सुधार गरी एकतर्फी कमिसन व्यवस्था लागू गर्नुपर्ने, कारोबार खण्डीकरण हटाएर कुल कारोबारका आधारमा शुल्क निर्धारण गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, फ्युचर एन्ड अप्सन, इन्ट्रा–डे कारोबार, सर्ट सेल र ईटीएफजस्ता नयाँ वित्तीय औजार ल्याउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने माग गरिएको छ।
रौनियारले बोनस तथा नगद लाभांशमा लाग्ने अतिरिक्त कर हटाउनुपर्ने, साधारण सभा र लाभांश वितरणका लागि निश्चित समयसीमा तोक्नुपर्ने तथा डिम्याट खाता नवीकरण प्रक्रियालाई सहज बनाउनुपर्ने सुझाव दिएका छन्।
उनले हालको टीएमएस प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने, गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ताले सहज रूपमा कारोबार गर्न सक्ने व्यवस्था गर्नुपर्ने र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आधुनिकीकरण गर्नुपर्ने बताएका छन्।
सुझावपत्रमा आईपीओको १० कित्ते आवेदन प्रणालीलाई निरन्तरता दिनुपर्ने, एनआरएन लगानीलाई सहज बनाउने, धितोपत्र बोर्डलाई थप स्वायत्त र सक्षम नियामक निकायका रूपमा विकास गर्नुपर्ने विषय पनि समेटिएका छन्।
बजारमा हुने अफवाह, अस्वाभाविक गतिविधि र साइबर अपराध नियन्त्रणका लागि सेबोन र नेप्सेमा प्रभावकारी निगरानी संयन्त्र तथा २४ घण्टे ‘वार रुम’ स्थापना गर्नुपर्ने सुझाव दिइएको छ।
रौनियारले पुँजी बजारको दीर्घकालीन विकासका लागि नीतिगत स्थिरता, प्रविधिको आधुनिकीकरण, प्रभावकारी नियमन र लगानीमैत्री वातावरण आवश्यक रहेको भन्दै प्रस्तावित सुधारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन्।






