सालपा विकास बैंक लिमिटेड ले आज (पुस १६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको थियो भने ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो।
अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहने १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो। उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको छ, जसको कुल रकम १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबर हुन्छ।
यस आईपीओमा लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म थपिने बैंकले जनाएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले बैंकलाई आईआरएन सिंगल बी (IRN Single B) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा तुलनात्मक रूपमा उच्च जोखिम रहेको संकेत गर्दछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।





