नेपाल धितोपत्र बोर्डले एकै दिन चार फरक–फरक कम्पनीलाई अग्राधिकार सेयर, हकप्रद सेयर, ऋणपत्र तथा सामूहिक लगानी योजना निष्कासनका लागि स्वीकृति दिएको छ। बोर्डले माघ २१ गते बुधबार उक्त अनुमति प्रदान गरेको हो।
बोर्डले बुद्धभूमी नेपाल हाइड्रोपावर लाई १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ।
त्यसैगरी, सानिमा बैंक ले ‘८.२५ प्रतिशत सानिमा अविमोच्य सञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने स्वीकृति पाएको छ। बैंकले १०० रुपैयाँ अंकित मूल्यका २ करोड कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरका सेयर परिपत्र विधिबाट बिक्री गर्नेछ, जसमा लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
यसै क्रममा, आइसिएफसी फाइनान्स ले ‘८ प्रतिशत आइसिएफसी फाइनान्स डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति पाएको छ। सात वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याज पाइनेछ। कम्पनीले १ हजार रुपैयाँ अंकित मूल्यका ५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ।
त्यसैगरी, गरिमा क्यापिटल ले ‘गरिमा सुवर्ण योजना’ नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति पाएको छ। १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको योजना स्वीकृत भएको हो, जसको व्यवस्थापक तथा बिक्री प्रबन्धक स्वयं गरिमा क्यापिटल रहेको छ।





