नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्र
Author
NEPSE TRADING

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राख्दै सुधार र विस्तारका कार्यहरू तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। आइतबार लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले २२ बुँदे मागपत्र बुझाएको अवसरमा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले यस्तो आश्वासन दिएका हुन्।
श्रेष्ठले दोस्रो बजारलाई नै आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे। उनले भने, “सुरुदेखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो। खासगरी साना लगानीकर्ताले जुन भोग्नुपर्ने समस्या छ, त्यसलाई बेवास्ता गर्न सक्दिन।”
लगानीकर्ताको प्रमुख मागहरू
लगानीकर्ताले बुझाएको २२ बुँदे मागपत्रमा प्रमुख मागहरू यसप्रकार छन्:
सबै सूचीकृत कम्पनीको संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गर्नुपर्ने।
ब्रोकरमार्फत मार्जिन ट्रेडिङ तत्काल सुरु गर्नुपर्ने।
संस्थापक हिस्सेदारी सम्बन्धी कानूनी व्यवस्था नहुँदासम्म नयाँ आईपीओ रोक्नुपर्ने।
प्राथमिक र दोस्रो बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउनुपर्ने।
सबै आईपीओमा बुक बिल्डिङ प्रक्रिया अनिवार्य गर्नुपर्ने।
बोर्ड अध्यक्षको प्रतिक्रिया
अध्यक्ष श्रेष्ठले आफू सदैव लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्ने बताएका छन्। “यहाँहरुले उठाउनुभएको कुरामा म आफैं चिन्तित छु। लगानीकर्तामात्र नभई कम्पनीहरूको आवश्यकता पनि महत्त्वपूर्ण छ, त्यसैले दुवै पक्षलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्छ,” उनले भने।
लगानीकर्ताहरूले माग पूरा नभए पुँजी बजारले गम्भीर संकट व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। उनीहरूको दाबीअनुसार यसले ७० लाखभन्दा बढी लगानीकर्ता, ९३ सेयर दलाल, दर्जनौं मर्चेन्ट बैंक र सरकार तथा अन्य सम्बद्ध पक्षलाई ठूलो क्षति पुर्याउनेछ।