नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार कार्यदलले दिएको सुझावका आधारमा विस्तृत कार्यान्वयन कार्य योजना तयार गरी सार्वजनिक गरेको छ। आइतबार लगानीकर्ताहरूले तत्काल सुधारका माग गर्दै बोर्ड घेराउ गरेपछि बोर्डले उक्त योजना सार्वजनिक गरेको हो। यस कार्य योजनाले पूँजी बजारमा पारदर्शिता, स्थायित्व र लगानीकर्ता सुरक्षामा केन्द्रित नौवटा प्रमुख कामलाई प्राथमिकता दिएको छ।
धितोपत्र बोर्डको पहिलो प्राथमिकता दलाल मार्फत मार्जिन कारोबार प्रणाली लागू गर्ने हो। यसका लागि अध्ययन समिति गठन भइसकेको छ र यसको प्रतिवेदन आएलगत्तै कार्यान्वयनमा लैजाने योजना छ। यो काम कार्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
दोस्रो काम सिडिएस तथा क्लियरिङ्ग लिमिटेडबाट आइजिन वितरणमा एकरूपता ल्याउने हो। त्यसका लागि मापदण्ड तयार भइसकेको छ र कार्तिक मसान्तसम्म लागु गरिने छ।
तेस्रो, सूचीकृत कम्पनीहरूले लगानीकर्तालाई बोनस शेयर वितरण गर्दा लाग्ने कर मिलान गरेर भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिने उल्लेख छ।
चौथो, दलाल र लगानीकर्ताबीच रकम भुक्तानीमा ढिलाइ भएमा ब्याज सहित क्षतिपूर्ति दिने व्यवस्था तयार गरिनेछ। यसको लागि बोर्डले मंसिर १५ गतेसम्म बेन्चमार्क दरको अध्ययन समाप्त गर्ने जनाएको छ।
पाँचौं, लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था कार्तिक १५ सम्म लागु हुनेछ।
छैटौं, नेपाल स्टक एक्सचेन्जले कम्पनी वर्गीकरण प्रणाली वस्तुनिष्ठ बनाउने र जेड समूहका कम्पनीहरूको कारोबारमा १००% नगद मार्जिन लागू गर्ने निर्देशन बोर्डले तुरुन्त दिनेछ।
सातौं, लगानीकर्ता गुनासो व्यवस्थापन संयन्त्र स्थापनासँगै पूँजी बजार साक्षरताका तालिम तथा कार्यशाला प्रभावकारी बनाउने कार्य तुरुन्त अघि बढाइनेछ।
आठौं, धितोपत्रसम्बन्धी कसुरको छानबिनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने निर्णय गरिएको छ।
यसरी, धितोपत्र बोर्डले पूँजी बजार सुधार कार्यान्वयनलाई स्पष्ट मिति र प्राथमिकतासहित अघि बढाएको छ, जसले बजारमा लगानीकर्ताको विश्वास पुनः स्थापित गर्ने अपेक्षा गरिएको छ।





