तोकिएको समयभित्र सेयरको राफसाफ तथा फर्स्योट (सेटल्मेन्ट) को काम सम्पन्न नगरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'बेनी सेक्युरिटिज प्रा.लि.' (ब्रोकर नम्बर ९३) लाई कारबाही गरेको छ। नेप्सेले बुधबार (भदौ ३ गते) बाट लागू हुने गरी उक्त ब्रोकर कम्पनीलाई निलम्बन गर्दै कारोबारमा रोक लगाएको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले नियमअनुसार समयमै राफसाफको दायित्व पूरा नगरेको भन्दै कारबाहीका लागि नेप्सेलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को नियम २२ (१) (छ) लाई टेकेर आगामी तीन कार्यदिनका लागि कम्पनीलाई निलम्बन गर्ने निर्णय लिएको हो।
नेप्सेको यस कदमसँगै अबको तीन दिनसम्म बेनी सेक्युरिटिजको प्रणालीबाट कुनै पनि सेयर खरिद तथा बिक्री गर्न मिल्ने छैन। यस कारबाहीका कारण उक्त ब्रोकर कम्पनीमार्फत सेयर कारोबार गर्दै आएका लगानीकर्ताहरू आगामी तीन दिनसम्म प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।




