लगानीकर्तालाई सचेत बनाउने उद्देश्यले नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम सुरु
Author
NEPSE TRADING

शेयर बजारका लगानीकर्तालाई पुँजीबजारसम्बन्धी आधारभूत जानकारी र सचेतना बढाउने उद्देश्यसहित नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम सुरु गरिएको छ। नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डले स्थानीय लगानीकर्ताका लागि लक्षित रूपमा शेयर साक्षरताको सुरुवात गरिएको जानकारी दिएको हो।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले पुँजीबजार प्राथमिक बजार र दोस्रो बजार दुवैको संयोजन भएको उल्लेख गर्दै बोर्ड लगानीकर्ताको हित संरक्षणमा निरन्तर सक्रिय रहेको बताए। दोस्रो बजारमा लगानी गरेर छिटो नाफा कमाउने चाहना सबैमा हुने भए पनि त्यसका लागि धैर्यता, संयमता र सही जानकारी आवश्यक हुने उनको भनाइ थियो। लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड सधैँ तयार रहेको उनले स्पष्ट पारे।
निर्देशक पौडेलले पुँजीबजारसम्बन्धी ऐन, नियम र निर्देशनअनुसार बजारको नियमन भइरहेको जानकारी दिँदै लगानीसँगै जोखिम पनि जोडिएर आउने विषयमा लगानीकर्ता सचेत हुनुपर्नेमा जोड दिए। पुँजीबजारमा गरिएको लगानीबाट प्राप्त हुने प्रतिफलको ग्यारेन्टी नियामक निकायले गर्न नसक्ने यथार्थलाई स्वीकार गर्दै लगानी निर्णय आफैँले जिम्मेवारीका साथ लिनुपर्ने उनले बताए।
कार्यक्रममा सहभागी लगानीकर्ता झवीन्द्रप्रसाद मरासिनीले कतिपय सूचीकृत कम्पनीले समयमै लाभांश वितरण नगरी लगानीकर्तालाई ठगिरहेको आरोप लगाए। उनले यस्ता विषयमा बोर्डले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताउँदै पुँजीबजारमा अफवाह फैलाउने र गलत गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही आवश्यक रहेको धारणा राखे।
त्यस्तै, अर्का लगानीकर्ता विकास भट्टराईले नियामक निकाय पर्याप्त सक्रिय नहुँदा लगानीकर्ता जोखिममा परेको गुनासो गरे। उनले विशेष गरी ‘इन्साइडर ट्रेडिङ’ जस्ता संवेदनशील विषयमा बोर्ड गम्भीर देखिन नसकेको आरोप लगाउँदै नियमनलाई अझ कडा बनाउन आग्रह गरे।
उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदय अधिकारी, लगानीकर्ता जीवनारायण बेल्वासे, सङ्घका महासचिव अर्जुन रानाभाटलगायत वक्ताहरूले पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन सरोकारवाला सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमअन्तर्गत नेपाल धितोपत्र बोर्डले बाँके र बर्दिया जिल्लामा शेयर साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ भने बुधबार महेन्द्र बहुमुखी क्याम्पसमा थप कार्यक्रम आयोजना हुने जानकारी दिएको छ। नेपालगन्जमा हाल तीनवटा ब्रोकर कार्यालयमार्फत करिब २० हजार लगानीकर्ताले शेयर कारोबार गरिरहेको इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जले जनाएको छ।



