काठमाडौँ — सेयर बजारको कारोबार र लगानीकर्ताको नाफा खुम्चिँदा आर्थिक वर्ष २०८२/८३ मा सरकारले पाउने पुँजीगत लाभकर उल्लेख्य रूपमा घटेको छ। वर्षभर सेयर लगानीकर्ताबाट १० अर्ब ३५ करोड रुपैयाँ लाभकर संकलन भएको छ।
अघिल्लो आर्थिक वर्षमा यस्तो कर १६ अर्ब ५४ करोड रुपैयाँ उठेको थियो। एक वर्षमा कर संकलन ६ अर्ब १९ करोड रुपैयाँ अर्थात् ३७.४३ प्रतिशतले घटेको हो।
पुँजीगत लाभकर लगानीकर्ताले सेयर बिक्रीबाट कमाएको नाफामा लाग्ने भएकाले यसको संकलन बजारको अवस्थासँग प्रत्यक्ष जोडिन्छ। बजार परिसूचक, कारोबार रकम र सेयर मूल्यमा दबाब पर्दा लगानीकर्ताको नाफा घटेको र त्यसको असर सरकारी राजस्वमा देखिएको हो।
गत आर्थिक वर्षका अधिकांश महिनामा लाभकर संकलन अघिल्लो वर्षभन्दा कम रह्यो। साउनमा कर संकलन ४९ प्रतिशत, भदौमा करिब ७७ प्रतिशत, असोजमा ५८ प्रतिशत र फागुनमा पनि साढे ५८ प्रतिशतले घटेको तथ्यांक छ।
केही महिनामा भने बजार गतिविधिमा सुधारसँगै कर संकलन बढेको देखिन्छ। माघमा लाभकर २२ प्रतिशत बढेर १२ करोड ९१ लाख रुपैयाँ पुगेको थियो। चैतमा भने अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५० प्रतिशतभन्दा बढी वृद्धि हुँदै १७ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ।
पछिल्ला १० आर्थिक वर्षमा सरकारले सेयर कारोबारबाट ६३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर उठाएको छ। यसमध्ये सबैभन्दा धेरै १६ अर्ब ५४ करोड रुपैयाँ आर्थिक वर्ष २०८१/८२ मा संकलन भएको थियो।
यसअघि आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब १३ करोड रुपैयाँ र २०७८/७९ मा १० अर्ब ३५ करोड रुपैयाँ लाभकर उठेको थियो। आर्थिक वर्ष २०७४/७५ मा भने यस्तो राजस्व ५० करोड ७६ लाख रुपैयाँमा सीमित थियो।
तथ्यांकले सेयर बजार उकालो लाग्दा सरकारी राजस्वसमेत तीव्र रूपमा बढ्ने र बजार कमजोर हुँदा घट्ने प्रवृत्ति देखाउँछ। यसले सेयर कारोबारबाट आउने राजस्व स्थायीभन्दा पनि बजारको उतारचढावमा बढी निर्भर रहेको संकेत गर्छ।




