नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा क्यूआर, मोबाइल बैंकिङ, प्रिपेड कार्ड, वालेट तथा अन्य माध्यममार्फत हुने कारोबार रकम र संख्या दुवै उल्लेख्य मात्रामा वृद्धि भएका छन्।
क्यूआर कारोबारमा ९१ प्रतिशत वृद्धि
क्यूआर भुक्तानीमार्फत कारोबार रकम ९१ प्रतिशतले बढेर नौ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो कारोबार चार खर्ब ९९ अर्ब ७९ करोड रुपैयाँमा सीमित थियो। कारोबार संख्या पनि ८६ प्रतिशतले बढ्दै ३१ करोड ५७ लाख पटक पुगेको छ। असार महिनामा मात्र क्यूआर कारोबार एक खर्ब १३ अर्ब रुपैयाँ नाघेको छ।
आरटीजिएसबाट ७४९ खर्ब बराबरको कारोबार
ठूला रकम भुक्तानीका लागि प्रयोग हुने रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS) प्रणालीबाट गत आवमा ७४९ खर्ब १ अर्ब रुपैयाँ कारोबार भएको छ। यो अघिल्लो वर्षको तुलनामा ९४ प्रतिशतले बढी हो। तर कारोबार संख्या भने करिब ८ लाख ४२ हजार पटक मात्र भएको छ, जसमा वृद्धि दर ४ प्रतिशत छ।
प्रिपेड कार्ड कारोबारमा ६६ प्रतिशत वृद्धि
प्रिपेड कार्डमार्फत हुने कारोबार १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशत बढी हो। कारोबार संख्या पनि ४० प्रतिशतले बढेको छ।
मोबाइल बैंकिङ ५० खर्ब नाघ्यो
मोबाइल बैंकिङमार्फत ५० खर्ब १८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो आवको तुलनामा ४५ प्रतिशतले बढी हो। कारोबार संख्या पनि ६१ करोड ४१ लाख पटक पुगेको छ।
कुल विद्युतीय कारोबार ९८४ खर्ब
समग्रमा विद्युतीय कारोबार ७१ प्रतिशतले बढ्दै ९८४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। कारोबार संख्या पनि ३६ प्रतिशतले बढेको छ। वालेटमार्फत ५ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ भने ई–कमर्स कारोबार १३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
डिजिटल भुक्तानीमा नागरिकको आकर्षण
नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितका अनुसार सहजता, तत्काल भुक्तानीको सुविधा, नगद बोकेर हिँड्नुपर्ने झन्झट नहुनेजस्ता कारणले गर्दा डिजिटल भुक्तानीप्रति आकर्षण बढेको हो।





