सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्बभन्दा बढी संकलन, योगदानकर्ता २८ लाख नाघे
Author
NEPSE TRADING

काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको रकम १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ। फागुन १० गतेसम्म उक्त रकम जम्मा भएको कोषले जनाएको छ। विसं २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको औपचारिक सुरुवात गरिएको थियो भने २०७६ साउन १ गतेदेखि योगदान संकलन सुरु गरिएको हो।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ, जसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले योगदान गर्नुपर्ने प्रावधान छ। इच्छाअनुसार अतिरिक्त योगदानसमेत गर्न सकिने व्यवस्था रहेको छ। प्रत्येक महिनाको योगदान अर्को महिनाको १५ गतेभित्र कोषमा जम्मा गर्नुपर्ने हुन्छ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषमा संकलित रकम सुरक्षित रूपमा सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंक निक्षेप, म्युचुअल फन्ड तथा डिबेन्चरजस्ता साधनमा लगानी गरिएको छ। योगदानकर्तालाई सापटीका रूपमा समेत लगानी भइरहेको उनले बताए।
हाल कोषमा आवद्ध योगदानकर्ताको संख्या २८ लाख २२ हजार ३३३ पुगेको छ भने सूचीकृत रोजगारदाताको संख्या २३ हजार ८४ रहेको छ। कुल योगदानकर्तामध्ये झन्डै ६ लाख ७९ हजार औपचारिक क्षेत्रका श्रमिक रहेका छन् भने करिब २२ लाख वैदेशिक रोजगारीमा गएका नेपालीहरू छन्। अनौपचारिक र स्वरोजगार क्षेत्रको सहभागिता भने न्यून देखिएको छ, जहाँ क्रमशः ८५४ र ८०८ जना मात्र आवद्ध छन्।


