·

नेप्सेमा बन्यो स्पिनिङ टप क्यान्डल, रिभर्सल को संकेत बजारमा त्रास

Author

Nepse trading

नेप्सेमा बन्यो स्पिनिङ टप क्यान्डल, रिभर्सल को संकेत बजारमा त्रास

नेपाली शेयर बजार लगातार पाँचौ दिन समेत घटेर बन्द भएको छ । साताको दोस्रो कारोबारको दिन नेप्से सूचक २७ सय अंकको मनोवैज्ञानिक तह पार गर्न नसकी सुस्त देखिएको हो । आज नेप्से सूचक १०.९८ अंकले घट्दै २६७७.३२ अंकमा अडिएको छ । कुल ३२२ कम्पनीका १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।  कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया २४ करोड ४४ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो भने दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र सप्तकोशी डेभलपमेन्ट बैंक परेका छन् ।

नेप्से सूचक पटक–पटक २७ सय अंक नजिक पुगेर पुनः तल झर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । अघिल्लो साता औसदमा ११ अर्ब रुपैयाँभन्दा माथि रहेको दैनिक कारोबार रकम घट्दै गएको छ । सूचक र कारोबार दुवै घट्दा बजारमा त्रास फैलिएको छ। बिक्रेता पक्षको दबाब हावी हुँदा बजार तल झरेको हो भने अल्पकालीन कारोबारीहरूले नाफा बुक गर्दै पुनः सस्तो मूल्यमा खरिद गर्न प्रतीक्षा गर्दा बजार थप प्रभावित भएको छ ।

बजार अहिले मौद्रिक नीति समीक्षाको प्रतीक्षामा रहेको देखिन्छ । केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षा तयारी गरिरहेको छ, जसले बजारलाई नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ । बैंकहरूले सस्तो ब्याजदरमा सेयर धितो कर्जा दिन थालेका छन् भने बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको  छ। सरकार पनि सेयर बजार सुधारप्रति सकारात्मक देखिएको छ । तर पनि बजारले केहि नीतिगत सुधार खोजेको विज्ञले बताएका छन् ।

टेक्नीकल विश्लेषण

नेप्से सूचक सोमबारको कारोबारमा १०.९८ अंकले घट्दै २६७७.३२ अंकमा अडिएको छ। प्राविधिक विश्लेषण अनुसार सूचक अहिले महत्वपूर्ण सपोर्ट जोन नजिक कारोबार भइरहेको छ, जहाँ स्पिनिङ टप क्यान्डल बनेको छ, जुन सम्भावित रिभर्सल को संकेत हो। बजारले पछिल्ला दिनहरूमा २७ सय अंक पार गर्न संघर्ष गरिरहेको छ भने क्रेता र विक्रेताबीचको दबाबले कारोबार अनिश्चित देखिएको छ । MACD अझै बुलिश क्रसओभर मा रहँदा पनि कमजोर हुने संकेत देखिएको छ भने इचिमोकु क्लाउड मा सूचकले बलियो सपोर्ट पाइरहेको छ । बजारले २६५०–२६६५ अंक को सपोर्ट कायम राख्न सके पुनः २७८५ अंक र त्यसपछि ३०२३ अंक सम्म पुग्न सक्ने सम्भावना छ । यद्यपि, सपोर्ट स्तर भत्किएमा थप करेक्सन देखिन सक्ने भएकाले लगानीकर्तालाई सतर्क रहन सल्लाह दिइएको छ ।

ब्रोकर  विश्लेषण

शीर्ष १० ब्रोकरहरूले गरेको सेयर कारोबारको विश्लेषण गर्दा ब्रोकर ५८ सबैभन्दा अग्रस्थानमा देखिन्छ, जसले कुल ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्दै ४.८४६% बजार हिस्सा ओगटेको छ। यस ब्रोकरको खरिद रकम ३३ करोड रुपैयाँ र बिक्री रकम ३३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ, जसले खरिद÷बिक्री अनुपात ०.९८६ कायम राखेको छ, जुन खरिद र बिक्री लगभग सन्तुलित रहेको संकेत हो।

त्यस्तै, ब्रोकर ४९ ले सबैभन्दा उच्च खरिद÷बिक्री अनुपात १.०२२ कायम राख्दै खरिद पक्षमा सक्रियता देखाएको छ भने ब्रोकर २८ ले १.४१८ को उच्च अनुपात देखाउँदै बढी खरिदमुखी रणनीति अपनाएको देखिन्छ। विपरीत, ब्रोकर ५६ ले सबैभन्दा कम खरिद÷बिक्री अनुपात ०.६७४ देखाउँदै बिक्री पक्ष हावी रहेको संकेत गरेको छ।

कुल कारोबार रकमका आधारमा ब्रोकर ४५ र ४२ दोस्रो र तेस्रो स्थानमा क्रमशः ५१ करोड रुपैयाँ र ५० कराेड रुपैयाँ बराबरको कारोबार गर्दै अगाडि देखिन्छन्। बजारमा देखिएको यस्तो कारोबार प्रवृत्तिले केही ब्रोकरहरू अल्पकालीन नाफा बुक गर्दैछन् भने केही दीर्घकालीन लगानीकर्ताहरू सेयर संकलन गरिरहेका छन्, जसले आगामी दिनहरूमा बजारको उतारचढावमा प्रत्यक्ष प्रभाव पार्ने संकेत गर्दछ ।

प्रमुख ब्रोकरहरूले गरेका सेयर खरिद र बिक्री कारोबारको विश्लेषण गर्दा MEL  कम्पनीमा सबैभन्दा बढी खरिद गरिएको देखिन्छ । ब्रोकर ६५ ले MEL कम्पनीको कुल कारोबारको ४३.५८% हिस्सा खरिद गर्दै ६७,३१० कित्ता सेयर औसत मूल्य ३६४.८९ रुपैयाँ मा किनेका छन् । त्यसपछि RNLI मा ४०.३३% र HDHPC  मा ३१.७७% खरिद गरिएको छ। त्यस्तै, PRVU मा ३०.९९% र HIDCLP ( मा ३१.५४% हिस्सा खरिद गरिएको देखिन्छ ।

 बिक्रीतर्फ, BEDC कम्पनीमा सबैभन्दा बढी बिक्री भएको देखिन्छ, जहाँ कुल कारोबारको ५०.६७% हिस्सा बिक्री गरिएको छ । त्यसपछि ULHC मा ३८.०३%, HDHPC (हाइड्रोपावर) मा ३६.९१%, र MEL मा ३५.६८% बिक्री गरिएको छ। बैंकिङ क्षेत्रमा PRVU कम्पनीमा पनि ३४.५१% हिस्सा बिक्री गरिएको छ।

यस विश्लेषणले देखाउँछ कि हाइड्रोपावर र बैंकिङ क्षेत्रका सेयरहरूमा लगानीकर्ताको आकर्षण उच्च रहेको छ। खरिदतर्फ दीर्घकालीन लगानीकर्ताहरू सक्रिय देखिन्छन् भने बिक्रीतर्फ अल्पकालीन मुनाफा बुक गर्ने प्रवृत्ति हावी देखिन्छ। यस्तो कारोबार प्रवृत्तिले बजारमा उतारचढाव सिर्जना गर्दै लगानीकर्ताको मनोवृत्तिमा प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिन्छ ।

Related News