सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्दै, आवेदन प्रक्रिया पुस २२ देखि सुरु
Author
NEPSE TRADING

काठमाडौँ, पुस २१ – सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिसकेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कुल ३१ लाख कित्ता आईपीओ जारी गर्ने छ, जसको दर प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। कम्पनीले छुट्याएको ३१ लाख कित्तामा १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रदान गरिनेछ।
आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. २ र ३ (साविक घनपोखरा र खुदी गाविसका विभिन्न वडाहरू)का स्थानीयका लागि राखिएको छ। अन्य ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाका अन्य वडाहरू र अन्य प्रभावित गाविसहरूका लागि छुट्याइएको छ।
आईपीओमा आवेदन दिने प्रक्रिया पुस २२ देखि सुरु हुँदैछ। आयोजना प्रभावित स्थानीय बासिन्दाले पुस २२ देखि माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस २२ देखि पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि तोकिएको अवधिमा पर्याप्त आवेदन प्राप्त नभएमा, आवेदन अवधि थप गर्न सकिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित स्थानीयले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डद्वारा स्वीकृत सी–आस्वा सेवामा सहभागी बैंक र वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरू र मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।
यो आईपीओ परियोजनामा सहभागी स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ठूलो अवसरको रुपमा रहेको छ, जसले कम्पनीको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


