·

सुशीला कार्की: पूर्वप्रधानन्यायाधीशबाट प्रधानमन्त्रीसम्मको यात्रा

Author

NEPSE trading

सुशीला कार्की: पूर्वप्रधानन्यायाधीशबाट प्रधानमन्त्रीसम्मको यात्रा

‘जेन–जी’ पुस्ताले नेतृत्वको लागि रोजेकी सुशीला कार्की पूर्वप्रधानन्यायाधीश रहिसकेकी छिन्। उनले न्यायपालिकामा भ्रष्टाचारविरुद्धको शून्य सहिष्णुता नीति अपनाएर आफ्नो पहिचान बनाएकी थिइन्।

न्यायिक पृष्ठभूमि र प्रारम्भिक जीवन

कार्कीले २०७३ साल असार २७ देखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीशको पद सम्हालेकी थिइन्। उनी २००९ जेठ २५ मा मोरङ, विराटनगरस्थित शंखपुरमा जन्मेकी हुन्। बीपी कोइरालाको परिवारसँग नजिक सम्बन्ध राख्ने उनको परिवारमा राजनीतिक पृष्ठभूमि पनि बलियो छ। उनका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानी हुन्।

शैक्षिक रूपमा उनले २०२८ सालमा महेन्द्र मोरङ क्याम्पसबाट बीए, २०३१ सालमा बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए, र २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्। उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापनसमेत गरेकी थिइन्।

कानुनी यात्रा र न्यायाधीश जीवन

कार्कीले २०३५ सालमा वकालत सुरु गरिन्। विराटनगर उच्च अदालतमा बार अध्यक्षसमेत बनेकी उनले २०६१ मा वरिष्ठ अधिवक्ता र २०६५ सालमा सर्वोच्च अदालतकी अस्थायी न्यायाधीशको जिम्मेवारी सम्हालिन्। २०६७ मा स्थायी न्यायाधीश बनेकी उनी २०७३ मा प्रधानन्यायाधीश नियुक्त भइन्।

प्रधानन्यायाधीशको पदमा रहँदा उनले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख पदबाट हटाउने ऐतिहासिक फैसला गरिन्। त्यस्तै, सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने निर्णयसहित अनेकौं चर्चित मुद्दाहरूमा कडा र निष्पक्ष फैसला गरेकी थिइन्।

महाभियोगको चुनौती

२०७४ साल वैशाखमा तत्कालीन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि कार्कीलाई निलम्बित गरिए पनि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै महाभियोगलाई निष्प्रभावी बनाए। यसपछि उनी पुनः अदालत फर्किइन्।

राजनीतिको नयाँ जिम्मेवारी

भ्रष्टाचारविरुद्ध दृढता, न्यायमा निष्पक्षता, कानुनी पृष्ठभूमि र राजनीतिक सुझबुझका कारण कार्कीलाई युवाहरूले नेतृत्वका लागि रोजेका हुन्। बुधबार साँझ जंगी अड्डामा उनको नाम प्रस्ताव गरिएको थियो भने बिहीबार बिहान पनि छलफल जारी रहेको थियो।

न्यायपालिकामा ऐतिहासिक योगदान पुर्‍याएकी सुशीला कार्की अहिले मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लागेकी छन्, जसलाई राजनीतिक स्थायित्व र सहमतिको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related News