स्वाबलम्बन लघुवित्तको २४औँ वार्षिक साधारण सभा पुस २५ गते, १० प्रतिशत लाभांश प्रस्ताव
Author
NEPSE TRADING

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले आफ्नो २४औँ वार्षिक साधारण सभा पुस २५ गते आयोजना गर्ने भएको छ । साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।
साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ४६७औँ बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावअनुसार कम्पनीले ५.६३६५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको मूल्य ९ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबर रहेको छ । साथै, कर प्रयोजनसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको मूल्य ७ करोड २२ लाख रुपैयाँ रहेको छ ।
यसका अतिरिक्त साधारण सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेका छन् । साथै, एक जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।



