तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले असार १६ गतेदेखि निष्काशनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद साउन ११ गतेसम्मका लागि थप गरेको छ। कम्पनीले १:१ अनुपातमा अर्थात् हालको १ कित्ता शेयरको आधारमा नयाँ १ कित्ता हकप्रद शेयर निष्काशन गरिरहेको छ। कुल ४० लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन हुँदैछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुन्छ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि जेठ ५ गते बुकक्लोज गरेको थियो। जसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन नबिल बैंकको छत्तर, म्याङलुङ, संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद शेयर बाँडफाँटपछि ८० करोड रुपैयाँ पुग्नेछ। संकलित रकमबाट कम्पनीले माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा रहेको ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋणमध्ये केही भुक्तानी गर्नेछ। त्यसअनुसार माछापुच्छ्रे बैंकमा १६ करोड, नबिल र ग्लोबल आइएमई बैंकमा १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।





