काठमाडौँ – पर्यटकहरूको रोजाइको केन्द्र ठमेलले आफ्नो खाद्य संस्कृति अझै समृद्ध बनाउँदै ‘द गोल्डेन थाली’ को स्वागत गरेको छ। ठमेल इको रिसोर्ट परिसरमा संचालनमा आएको यो रेस्टुरेन्टले ठेट नेपाली खानाको मौलिक स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै विश्वव्यापी रूपमा प्रचार गर्ने लक्ष्य लिएको छ। पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व राजन सिम्खडा र मोहन लम्साल तथा शेफ नेपालको टोलीले संयुक्तरूपमा सुरु गरेको यो परियोजनाले नेपाली पाककला क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेको छ।
नेपाली पाक–परम्पराको जगेर्ना
‘द गोल्डेन थाली’ ले नेपालका मध्य पहाडी क्षेत्रका परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ, जुन प्रायः ठमेल जस्ता पर्यटक केन्द्रहरूमा अन्तर्राष्ट्रिय परिकारहरूले ओझेलमा पर्ने गरेका छन्। सिलौटोमा पिनेको मसला, ताजा अचार र मौलिक तयारी शैलीमार्फत यसले नेपाली परिकारको मौलिकता जोगाउने प्रयास गरेको छ।
थालीमा परिकार छान्न पाउने विकल्पले यसलाई अन्य परम्परागत थालीबाट फरक बनाएको छ। मास, सिमी, मिक्स दाल, मकै, कोदो र फापरको ढिँडो, र मार्सी, बासमती, ताइचिन जस्ता चामलका विविधताले ग्राहकलाई आफूसुबिधा अनुसारको खानाको छनोट गर्न सहज बनाएको छ।

पर्यटन र अर्थतन्त्रमा प्रभाव
एकैपटक १०० भन्दा बढी व्यक्तिलाई सेवा दिनसक्ने क्षमताको साथ यो रेस्टुरेन्ट बिहान ११ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने छ। शाकाहारी थालीको मूल्य रु ५५० बाट सुरु हुने यो स्थानले स्थानीय तथा विदेशी ग्राहकलाई आकर्षित गर्दै ठमेलको पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउनेछ।
स्थानीय आपूर्ति श्रृंखलाबाट सामग्री खरिद गरी रेस्टुरेन्टले क्षेत्रीय उत्पादनको प्रवर्द्धन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।
ठमेल इको रिसोर्ट परिसरलाई केवल खानपिनको ठाउँ मात्र नभई सांस्कृतिक पाक अनुभवको केन्द्र बनाउने योजना निर्माण भइरहेको छ। ‘टिफ्रेशो’ नामक पेय पदार्थको आउटलेटदेखि नेपाली तपास बार जस्ता सेवाहरूले यहाँको आकर्षणलाई थप बढाएको छ।
सीईओ अनु ढकालको भनाइ अनुसार, यस स्थानलाई नेपाली पाककला र संस्कृति अनुभव गर्ने विशेष गन्तव्यका रूपमा विकास गर्दै लगिने योजना रहेको छ।
‘द गोल्डेन थाली’ ले परम्परा र आधुनिकताको अनुपम संयोजन प्रस्तुत गर्दै नेपाली खानाको महत्त्वलाई नयाँ उचाइमा पुर्याएको छ। यसको माध्यमबाट नेपाली खानालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सम्भावना बढेको छ। आगामी दिनमा यसले अन्य व्यवसायहरूलाई पनि यस्तै प्रेरणा दिनसक्छ, जसले नेपाली पाक–संस्कृतिलाई विश्वसामु चिनाउन मद्दत पुग्नेछ।








