नेपाल स्टक एक्सचेञ्जले तीन कम्पनीको शेयर मूल्य समायोजन गर्यो
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेन्जले सोमबार लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेका तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ। मूल्य समायोजन हुने कम्पनीहरूमा एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्। एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयरका लागि प्रतिकित्ता ६९८ रुपैयाँको अन्तिम कारोबार मूल्यबाट समायोजन गर्दै नयाँ मूल्य ६७१.१५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको नेशनल लघुवित्तको हकमा १,३०५ रुपैयाँको अन्तिम मूल्यलाई आधार मानी नयाँ मूल्य १,१४२.२३ रुपैयाँ तोकिएको छ। विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरका लागि भने ४७७.९० रुपैयाँको अन्तिम मूल्यबाट समायोजन भई नयाँ मूल्य ४५५.१४ रुपैयाँ निर्धारण गरिएको छ। अब यी कम्पनीहरूको दोस्रो बजार कारोबार नेप्सेले तय गरेको यही समायोजित मूल्यबाट सुरु हुनेछ। बुक क्लोजभन्दा अघिल्लो कारोबार दिनसम्म शेयर कायम राखेका लगानीकर्ताहरू मात्र प्रस्तावित बोनस शेयरका लागि योग्य हुनेछन्। मूल्य समायोजनपछि शेयर संख्या बढ्ने र मूल्य घट्ने भए पनि लगानीकर्ताको कुल लगानी मूल्यमा तत्काल असर नपर्ने, तर बजार खुल्दा हुने उतारचढावले नाफा–घाटा निर्धारण गर्नेछ।


