एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते (नोभेम्बर ९, २०२५) अन्तिम दिन हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भएको आईपीओ बाँडफाँटपछि कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ। जसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई र ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ। त्यस्तै, १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ।
अब बाँकी ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी (ICRANP IR BB) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृत सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सक्नेछन्।





