श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि खुलेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई आईपीओ वितरण गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको कुल जारी पूँजी रु. १ अर्ब ६३ करोड १२ लाख ५० हजार रहेको छ, जसको २० प्रतिशत बराबरको रु. ३२ करोड ६२ लाख ५० हजार बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको जनाउँदै रेटिङ प्रदान गरेको छ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आईपीओको बिक्री प्रबन्धकको रूपमा काम गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।





