जिल्ला प्रहरी परिसर काठमाडौँले रु ७४ लाख ५२ हजार बराबरको अभौतिक (क्रिप्टो) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङ मिक्लाजुङ–१ घर भई हाल काठमाडौँ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
शनिबार काठमाडौँ महानगरपालिका–१०, बिजुली बजार क्षेत्रमा केही व्यक्तिहरू क्रिप्टो मुद्रा कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा आरोपित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरूबाट क्रिप्टो व्यापारमा प्रयोग भएका विभिन्न कम्पनीका पाँच थान मोबाइल फोन समेत बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले अभौतिक मुद्रा प्रयोग तथा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। नेपालमा क्रिप्टो कारोबार कानुनी रूपमा निषेधित भएकाले उनीहरू विरुद्ध ‘अभौतिक मुद्रा प्रयोग गर्न नहुने’ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।
राहदानी बनाइदिने भन्दै बिचौलियाको काममा तीन जना पक्राउ
यस्तै, राहदानी छिटोछरितो बनाईदिने नाममा बिचौलियाको काम गर्दै सेवाग्राही ठग्ने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बझाङ बित्थडचिर–६ का १९ वर्षीय हेमन्तसिंह ओखेडा, काठमाडौँ महानगरपालिका–१८ का ४५ वर्षीय मनराज श्रेष्ठ, तथा प्यूठान नगरपालिका–१ का ३० वर्षीय दीपेश केएम रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनीहरूले त्रिपुरेश्वरस्थित राहदानी विभागको मूलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिने, सेवाग्राहीलाई हैरानी दिने, तथा विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्याएको प्रहरीले जनाएको छ। प्रहरीले तीनै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।





