सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार पक्राउ गरेको छ । पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई विभागको टोलीले दिउँसो त्यहीँबाट नियन्त्रणमा लिएको हो । पाँच पटकसम्म अर्थमन्त्रीको कुर्सीमा बसेर मुलुकको अर्थतन्त्र हाँकेका पौडेल यसअघि कुनै पनि छानबिनमा यसरी प्रत्यक्ष तानिएका थिएनन् ।
विभागले उनलाई समात्नुअघि ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा हानेको थियो । उक्त छापाका बेला प्रहरीले उनको घरबाट केही कागजात समेत आफ्नो कब्जामा लिएको विभागनिकट स्रोतले बताएको छ ।
पौडेलले गरेको सेयर लगानी तथा कारोबार र उनको नाममा रहेको सम्पत्तिको स्रोत शंकास्पद देखिएपछि विभागले अनुसन्धान अघि बढाएको हो । राज्यसत्तामा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहलाई फाइदा पुग्ने गरी काम गरेको र त्यसको प्रतिफल पछि विभिन्न रूपमा भोग गरेको आरोप उनीमाथि छ ।
अरू व्यक्तिविरुद्ध प्रमाण जुटाउने क्रममा पौडेलसम्बन्धी सूचनासमेत हात परेको र ती व्यक्तिविरुद्ध मुद्दा दायर हुँदा थप अनुसन्धान जारी रहने जानकारी पहिल्यै अदालतलाई दिइसकिएको विभागले जनाएको छ । सोही प्रक्रियाअन्तर्गत बढी अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएको विभागको भनाइ छ ।
पक्राउपछि पौडेललाई काठमाडौं ल्याएर हिरासतमा राख्ने र मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराउने तयारी विभागले गरेको छ । हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू विशेष अदालतमार्फत नै हेरिने व्यवस्था छ ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पुर्जी जारी भएलगत्तै पौडेललाई स्थानीय शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो । होटलबाट उनलाई पहिले जिल्ला प्रहरी कार्यालय पुर्याइयो र त्यहाँबाट सडकमार्ग हुँदै नेपालगन्ज लगिएको छ । मंगलबार बिहान हवाई मार्गबाट उनलाई राजधानी ल्याइने कार्यक्रम रहेको प्रहरीले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठनका लागि सुझाव बटुलिरहेको छ र सोही सिलसिलामा पौडेल सुर्खेत पुगेका थिए ।
नेपाली राजनीतिमा पौडेल लामो समयदेखि शक्तिको केन्द्रनजिक रहिआएका अनुहार हुन् । उनी आठ पटक मन्त्री बनिसकेका छन् भने पाँच पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । यसमध्ये तीन पटक त उनी उपप्रधानमन्त्रीसमेत रहेर सरकारमा बसे ।
संघीय संसद् सचिवालयको अभिलेखअनुसार पौडेलले २०५३ चैतमा युवा, खेलकुद तथा संस्कृति मन्त्रालयबाट मन्त्रित्वको सुरुवात गरेका थिए । त्यसपछि २०६५ भदौमा जलस्रोत र २०६७ चैतमा रक्षा मन्त्रालयको नेतृत्व सम्हाले । अर्थ मन्त्रालयमा भने उनी पहिलोपटक २०७२ कात्तिकमा पुगे, जुन भूमिकासँग पछि उनको पहिचान नै जोडिन पुग्यो । २०७७ असोजमा दोस्रोपटक अर्थमन्त्री बनेका उनी २०७८ जेठ, २०७९ पुस हुँदै २०८१ असारसम्म आइपुग्दा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको हैसियतमा रहे ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पनि पौडेल अर्थमन्त्रीकै कुर्सीमा थिए । यही आन्दोलनको चापमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।
राजनीतिक रूपमा शिखर चढेका पौडेललाई पछिल्लो आम निर्वाचनले भने झड्का दिएको छ । फागुन २१ गते सम्पन्न चुनावमा उनी रूपन्देही–२ बाट पराजित भए र हाल संसद्बाहिर छन् । यो जेनजी आन्दोलनकै पृष्ठभूमिमा भएको चुनाव थियो ।
पौडेलको चुनावी इतिहास भने उतारचढावपूर्ण रहँदै आएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा उनी पाल्पाबाट विजयी भएका थिए । तर २०५६ सालमा रूपन्देहीबाट लड्दा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए । देशभर माओवादीको लहर चलेको पहिलो संविधानसभा निर्वाचन (२०६४) मा भने उनले माओवादी उम्मेदवार भक्तिप्रसाद पाण्डेलाई करिब साढे दुई हजार मतान्तरले हराए ।
त्यसयता उनको संसदीय यात्रा निरन्तर रह्यो । २०७० को दोस्रो संविधानसभामा रूपन्देही–४ र २०७४ तथा २०७९ मा रूपन्देही–२ बाट उनी विजयी भए । तर २०८२ को निर्वाचनमा भने सोही रूपन्देही–२ ले उनलाई हराइदियो ।
पौडेल २०३४ सालदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका नेता हुन् । उनी दोस्रोपटक एमालेको उपाध्यक्ष चुनिएका छन् भने २०७५ जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको महासचिवसमेत बनेका थिए ।
पछिल्लो चुनावी पराजयपछि एमाले कमजोर बनेको भन्दै पौडेल पार्टी पुनर्गठनको पक्षमा मुखर थिए । अध्यक्ष ओलीले नेतृत्वको जिम्मेवारी छाडेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने उनको अडान रहँदै आएको थियो । यसैबीच उनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन् ।





