काठमाडौं । सरकारले शेयर बजार र घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयकमा आयकर ऐन, २०५८ को दफा ९५क संशोधन गर्दै यो दर बढाएका हुन् ।
बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर प्राकृतिक व्यक्तिका लागि अन्तिम कर (फाइनल ट्याक्स) हुने घोषणा गरेर लगानीकर्तालाई उत्साहित बनाएका थिए । तर, सोही दिन संसद्मा पेस गरिएको आर्थिक विधेयकको विस्तृत विवरण बाहिर आएपछि सरकारले लाभकरको दर नै बढाएको खुलेको छ । ‘अन्तिम कर’ को घोषणालाई बजारले स्वागत गरिरहेका बेला करको दर वृद्धि हुँदा लगानीकर्ता दोहोरो अन्योलमा परेका छन् ।
शेयर बजारमा कति बढ्यो ?
नयाँ व्यवस्थाअनुसार अब अल्पकालीन लगानीकर्ता वा शेयर कारोबारीले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ । हालसम्म १ वर्षभन्दा कम समय शेयर होल्ड गरी बिक्री गर्दा साढे ७ प्रतिशत मात्र कर तिर्नुपर्ने व्यवस्था थियो । अर्थात्, यसमा साढे २ प्रतिशत विन्दुले वृद्धि भएको छ ।
त्यसैगरी, १ वर्षभन्दा बढी समय शेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताका हकमा पनि कर बढाइएको छ । हालसम्म ५ प्रतिशत तिर्दै आएका यस्ता लगानीकर्ताले अब ७.५ प्रतिशत कर बुझाउनुपर्नेछ ।
आयकर ऐनको दफा ९५क को उपदफा (२) को खण्ड (क) मा रहेको ‘पाँच प्रतिशत’ लाई ‘सात दशमलव पाँच प्रतिशत’ र ‘सात दशमलव पाँच प्रतिशत’ लाई ‘दश प्रतिशत’ बनाएर यो नयाँ दर लागू गरिएको हो ।
घरजग्गामा पनि भार
कर वृद्धिको असर शेयर बजारमा मात्र सीमित छैन । घरजग्गा बिक्री गर्दा हुने पूँजीगत लाभमा लाग्ने करमा पनि साढे २ प्रतिशत विन्दुले वृद्धि गरिएको छ ।
यसअघि घरजग्गाको निसर्ग (बिक्री) बाट हुने लाभमा ५ प्रतिशत कर लाग्दै आएकोमा अब त्यो बढाएर साढे ७ प्रतिशत पुर्याइएको छ । दफा ९५क को उपदफा (५) को खण्ड (क) संशोधन गरी मालपोत वा रजिस्ट्रेसन गर्ने निकायले रजिस्ट्रेसनका बखत लिने ५ प्रतिशत करको सट्टा अब ७.५ प्रतिशत असुल्ने कानुनी व्यवस्था मिलाइएको छ ।
राजस्व सङ्कलन बढाउने लक्ष्यसहित सरकारले विलासी र वैदेशिक सेवामा समेत करको भार बढाएको छ ।





