साइबर अपराधीको नयाँ जालोबाट सर्वसाधारण त्रसित
कनेक्ट आईपीएसकै शैलीमा नक्कली सन्देश, क्लिक गर्दा खाताबाट रकम गायब
साइबर ब्यूरोको नाम दुरुपयोग गरेर ठगी गर्ने चार जना पक्राउ
पछिल्लो समय मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै साइबर ठगीका घटना तीव्र रूपमा बढ्न थालेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बैंक खातामा अनधिकृत पहुँच पु¥याएर रकम चोरी गर्ने गिरोह सक्रिय भएको भन्दै ब्यूरोले चेतावनी जारी गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार आपराधिक समूहहरूले पछिल्लो समय ‘कनेक्ट आईपीएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरेर मोबाइल प्रयोगकर्तालाई भ्रममा पार्ने गरेका छन् । विभिन्न मोबाइल नम्बरबाट पठाइने सन्देशमा “तपाईंको खाता लक गरिएको छ” भन्ने सूचना दिइन्छ र पुनः पहुँच प्राप्त गर्न भन्दै ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ ।
त्यसपछि प्रयोगकर्तालाई शंकास्पद लिङ्क पठाइन्छ । धेरै प्रयोगकर्ताले वास्तविक सेवा सम्झेर उक्त लिङ्कमा क्लिक गर्ने गरेका छन् । तर, लिङ्क खोल्नेबित्तिकै प्रयोगकर्ताको व्यक्तिगत विवरण, बैंकिङ जानकारी र गोप्य डाटा संकलन गरी खातामै पहुँच पुर्याइने र रकम चोरी हुने गरेको साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार यस्तो ठगी अहिले संगठित रूपमा फैलिरहेको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट र अनलाइन भुक्तानी सेवाको प्रयोग बढेसँगै साइबर अपराधीहरूले नयाँ–नयाँ तरिका अपनाएर सर्वसाधारणलाई निशाना बनाउन थालेका हुन् ।
ब्यूरोले यस्ता घटनाबाट बच्न केही महत्वपूर्ण सावधानी अपनाउन आग्रह गरेको छ । शंकास्पद लिङ्कमा क्लिक नगर्न, बैंकिङ कारोबार गर्दा आधिकारिक वेबसाइट वा एप मात्रै प्रयोग गर्न, ओटीपी, पासवर्ड तथा बैंक विवरण कसैसँग साझा नगर्न र कुनै संदिग्ध गतिविधि देखिए तुरुन्त प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैंकलाई जानकारी गराउन आग्रह गरिएको छ ।
यसैबीच, साइबर ब्यूरोको नाम दुरुपयोग गरेर ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बू, धरान–९ का २१ वर्षीय सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरुवा–६ का २४ वर्षीय सृजन थापा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले ट्रूकलरमा समेत ‘साइबर ब्यूरो’ देखिने गरी सेटअप मिलाएर पीडितलाई फोन गर्ने गरेका थिए । त्यसपछि डर, त्रास र विभिन्न प्रलोभन देखाएर रकम पठाउन बाध्य बनाउने गरिएको खुलेको छ ।
प्राविधिक अनुसन्धानपछि उनीहरूको संलग्नता पुष्टि भएको र इलाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । पक्राउ परेका चारै जनामाथि विद्युतीय माध्यमसम्बद्ध ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साइबर अपराधको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेका बेला प्रहरीको निष्कर्ष स्पष्ट छ — प्रविधि जति सहज बन्दै गएको छ, त्यसको दुरुपयोग गर्ने गिरोह पनि उति नै सक्रिय हुँदै गएका छन् । त्यसैले सचेतना र सावधानी नै अहिलेको सबैभन्दा ठूलो सुरक्षा कवच बनेको छ ।





