काठमाडौँ — नेपालको वित्तीय प्रणाली तत्काल संकटमा नरहे पनि बढ्दो खराब कर्जा, सीमित ठूला ऋणीमा केन्द्रित कर्जा र ठूला निक्षेपकर्तामाथिको निर्भरताले जोखिम बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकको वित्तीय स्थायित्व प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ४.६२ प्रतिशत पुगेको छ। चैतसम्म प्रकाशित विवरणमा यस्तो अनुपात ५ प्रतिशत नाघिसकेको भन्दै राष्ट्र बैंकले सम्पत्ति गुणस्तरमा थप दबाब पर्न सक्ने चेतावनी दिएको छ।
खराब कर्जा बढे पनि बैंक तथा वित्तीय संस्थाले वर्षभर ७७ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशत बढी हो। तर बढ्दो कर्जा जोखिमले भविष्यको नाफा, कर्जा विस्तार र पुँजी क्षमतामा असर पार्न सक्ने देखिएको छ।
राष्ट्र बैंकको दबाब परीक्षणले दुई ठूला ऋणीको कर्जा खराब भए नौ वाणिज्य बैंकको पुँजी पर्याप्तता नियामकीय सीमाभन्दा तल झर्न सक्ने देखाएको छ। यसले बैंकहरूको कर्जा सीमित व्यक्ति र व्यावसायिक समूहमा बढी केन्द्रित रहेको संकेत गर्छ।
निक्षेप संरचनामा पनि उस्तै जोखिम देखिएको छ। केही ठूला संस्थागत निक्षेपकर्ताले एकैपटक रकम फिर्ता लिए वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको तरलतामा दबाब पर्न सक्ने राष्ट्र बैंकको निष्कर्ष छ। फाइनान्स कम्पनीहरू यस्तो जोखिमप्रति अझ संवेदनशील देखिएका छन्।
यद्यपि समग्र बैंकिङ प्रणालीको पुँजी र तरलता अझै नियामकीय सीमाभन्दा माथि छ। असार मसान्तसम्म कुल पुँजी पर्याप्तता अनुपात १२.९५ प्रतिशत र खुद तरल सम्पत्ति–निक्षेप अनुपात ३४.३३ प्रतिशत रहेको छ।
अर्थतन्त्रतर्फ भने केही सुधार देखिएको छ। आर्थिक वृद्धि ४.६१ प्रतिशत पुगेको छ भने औसत मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ। विप्रेषण १९.२ प्रतिशतले बढ्दा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति पनि बलियो बनेको छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको आधार अहिले पनि मजबुत रहेको बताए पनि खराब कर्जा नियन्त्रण, कर्जा तथा निक्षेप विविधीकरण र जोखिम व्यवस्थापन सुधार नगरे आगामी दिनमा दबाब बढ्न सक्ने जनाएको छ।




