पोखरा : सञ्चालनमा आएको झन्डै डेढ वर्षसम्म अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्ततः नियमित व्यावसायिक उडानको लय समातेको छ। गत बुधबारदेखि दुबई–पोखरा–दुबई नियमित उडान सुरु गरेको युएईको वायुसेवा कम्पनी ‘फ्लाइ दुबई’ ले सुरुवाती दिनमै पाएको यात्रुको चापले पोखरेली पर्यटन व्यवसायी र सरोकारवालाहरूमा नयाँ आशा जगाएको छ। यसअघि छिटपुट रूपमा विदेशी एयरलाइन्सले चार्टर उडान मात्र गर्दै आएको यस विमानस्थलमा फ्लाइ दुबईले नियमित व्यावसायिक उडानको ऐतिहासिक ढोका खोलेको हो।
विमानस्थल कार्यालयको तथ्यांकअनुसार, उडान सुरु भएको चौथो दिन शनिबारसम्म आइपुग्दा जहाजको 'अकुपेन्सी रेट' (यात्रु चाप) निकै उत्साहजनक देखिएको छ। १६५ सिट क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाज लिएर दैनिक उडान भरिरहेको यस कम्पनीले शनिबार साँझ १५६ यात्रु बोकेर पोखरा अवतरण गर्यो भने फर्किंदा ८३ यात्रु लिएर दुबई उड्यो। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार, यसअघि बिहीबार दुबईबाट १२२ यात्रु आउँदा पोखराबाट १४३ यात्रु बाहिरिएका थिए। बुधबारको पहिलो ऐतिहासिक उडानमा दुबईबाट ११३ यात्रु आएका थिए भने १५२ यात्रु दुबई फर्केका थिए। शुक्रबार भने खराब मौसमका कारण उडान रद्द गर्नुपरेको थियो। दैनिक साँझ ६:१५ मा अवतरण र ७:१५ मा प्रस्थान गर्ने सहज तालिकाले पनि यात्रुहरूलाई आकर्षित गरेको देखिन्छ।
फ्लाइ दुबईको यो नियमित उडान केवल एउटा वायुसेवा कम्पनीको रुट विस्तार मात्र होइन, यसले पोखरालाई विश्वभरको प्रमुख ट्रान्जिट हब मानिने दुबईसँग सिधा जोडेको छ। अब दुबई ट्रान्जिट हुँदै युरोप, अमेरिका तथा खाडी मुलुकबाट पर्यटक र गैरआवासीय नेपालीहरू सिधै पोखरा आउन सक्नेछन्। यसले समग्र गण्डकी प्रदेशकै पर्यटन, व्यवसाय, रोजगारी र आर्थिक गतिविधिमा रणनीतिक टेवा पुर्याउने विश्लेषण गरिएको छ।
सुरुवाती यात्रु संख्या र आकर्षणबाट हौसिएका पोखराका पर्यटन व्यवसायीहरूले यो उडानलाई दिगो बनाउन आ-आफ्नो तर्फबाट पहलकदमी सुरु गरिसकेका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार, अहिले टुर्स एन्ड ट्राभल्समा टिकट बुकिङ उत्साहजनक छ। "सुरुवाती सङ्केत अत्यन्तै सकारात्मक छ। व्यवसायीहरू उत्साहित हुनुहुन्छ," श्रेष्ठले भने, "यो उडानमार्फत आउने विदेशी तथा स्वदेशी यात्रुलाई लक्षित गर्दै यहाँका होटल तथा रेस्टुरेन्टहरूले विशेष छुट र प्याकेजसमेत ल्याउन थालिसकेका छन्।"
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आए पनि ठूला जहाज आउन नसक्ने र ऋणको भार मात्रै थपिने भन्दै पोखरा विमानस्थलमाथि प्रश्न उठिरहेका बेला सरकारको नीतिगत हस्तक्षेप र सहुलियतले यो उडान सम्भव भएको हो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको सरकारले एयरलाइन्सहरूलाई भारी छुटको 'प्याकेज' दिएपछि फ्लाइ दुबई पोखरा आउन तयार भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई उडान अनुमति दिएको थियो। सरकारले वायुसेवा कम्पनीको सञ्चालन लागत घटाउन २०८५ साल भदौ मसान्तसम्मका लागि पोखरा विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गरिदिएको छ। साथै, ग्राउन्ड ह्यान्डलिङमा दिइएको ५० प्रतिशत छुटले पनि अन्तर्राष्ट्रिय उडानलाई व्यावसायिक रूपमा सम्भाव्य बनाएको छ।
अन्तर्राष्ट्रिय उडान भर्न हिचकिचाइरहेका अन्य विदेशी वायुसेवा कम्पनीहरूका लागि फ्लाइ दुबईको यो सफल 'इन्ट्री' र उत्साहजनक यात्रु संख्या एउटा बलियो सन्देश बनेको छ। यदि यो उडान दिगो भयो र सरकारी सहुलियतले निरन्तरता पायो भने, पोखरा विमानस्थल साँच्चिकै नेपालको दोस्रो व्यस्त अन्तर्राष्ट्रिय ‘हब’ बन्ने दिशामा अग्रसर हुने पक्का छ।




